जीवनोपयोगी कृषि शिक्षा

सैद्धान्तिक शिक्षाले सीपको विकास गर्दैन । सीपको विकासका लागि प्रयोगात्मक अभ्यासमा जोड दिने प्राविधिक शिक्षा चाहिन्छ । यही आवश्यकतालाई बुझेर भरतपुर महानगरपालिका–२० भीमनगरमा रहेको भीमनगर माध्यमिक विद्यालयले प्राविधिक शिक्षातर्फ कक्षा ९ देखि बाली विज्ञानको पढाई सुरु गरेको छ ।

बाली विज्ञान अध्ययनरत विद्यार्थीहरुले विद्यालय परिसरमै रहेको टनेलमा टमाटर फलाएका छन् । काउली, बन्दा र च्याउ उत्पादन गरेका छन् । हाइ टेक टनेलमा बीउ उत्पादनको तयारीमा जुटेका छन् विद्यार्थी । उनीहरु टनेलमा टमाटरको रेखदेख एवं पाकेका टमाटर टिप्नमा व्यस्त हुन्छन् । विद्यालयमा हुने प्रयोगात्मक कार्यक्रम ‘पढ्दै कमाउँदै’ ले बिरुवा लगाउन, बियाड बनाउन, च्याउ, टमाटर उत्पादन गर्न सिकाएको छ । विद्यार्थीहरुले यसपालि लगाएको बन्दा, काउली, टमाटरबाट केही आम्दानी पनि लिएका छन् ।

नौ कक्षादेखि प्राविधिक शिक्षातर्फ बाली विज्ञान पढिरहेका विद्यार्थीले १२ कक्षापछि रामपुर कृषि विश्वद्यिालयमा नाम निकालेर स्नातक तहमा पढ्न समेत थालेका छन् । यसले विद्यार्थीहरुलाई उच्चशिक्षामा ठूलो सहायता गरिरहेको छ ।

भीमनगर माध्यमिक विद्यालयमा प्राविधिकतर्फ २०७४ सालदेखि बाली बिज्ञान पढाउन थालिएको हो । कक्षा ९ देखि १२ सम्म बालीविज्ञान विषयको पठनपाठन हुने यस विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गरिएको छ । विद्यार्थीले सिकाईकै क्रममा कमाई पनि गर्न सक्छन् भन्ने उदाहरण बनेको छ पढ्दै, कमाउँदै कार्यक्रम । विद्यार्थीलाई केही आर्थिक सहयोग पुग्ने र उनीहरु प्रयोगात्मक कार्यप्रति केन्द्रित हुने भएकाले कार्यक्रमको प्रभाव राम्रो रहेको पाइएको छ । प्रयोगात्मक कार्यसँगै प्रयोगशालामा माटो परीक्षण लगायतका विषय सिकाउँदा विद्यार्थीहरु लाभान्वित भएका छन् ।

साबिक शिक्षा तथा मानव स्रोत केन्द्रबाट अनुमति लिएर सुरु भएको प्राविधिक शिक्षातर्फ प्रारम्भमा १६ जना विद्यार्थी थिए । पहिलो ब्याचका विद्यार्थी १२ कक्षा राम्रो ग्रेडमा उत्तीर्ण भए । तीमध्ये ३ जनाले कृषि तथा वन विज्ञान विश्वविद्यालयको प्रवेश परीक्षा उत्तीर्ण गर्न सफल भएका छन् । यो प्राविधिक शिक्षाको राम्रो पक्ष हो । यसले कृषि शिक्षा जीवनोपयोगी छ भन्ने प्रमाणित गरेको छ । प्राविधिक शिक्षाको महत्व बुझेर अबका दिनमा अन्य विद्यालयहरुले पनि कृषि, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार लगायतका विषयमा प्रयोगात्मक शिक्षा दिनेतर्फ पाइला चाल्नु पर्ने देखिन्छ । यसले देशमा विद्यमान शैक्षिक बेरोजगारीको समस्यालाई केही हदसम्म कम गर्न सक्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट