पत्रकारका रूपमा परिचित वसन्त पराजुली अब कथाकारका रूपमा पनि चिनिन थालेका छन् । नेपाली आख्यान जगतमा पराजुलीको नाम यतिबेला चर्चामा छ । दुई वर्षअघि ‘कुमाता’ कथासङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा प्रवेश गरेका पराजुलीको दोस्रो कथासङ्ग्रहका रुपमा `मोम्चो´ प्रकाशनमा आएको छ । यी दुबै पुस्तकलाई भुँडीपुराण प्रकाशनले प्रकाशनमा ल्याएको हो ।
डेढ वर्षको अन्तरालमा प्रकाशन भएका कुमाता र मोम्चो कथासङ्ग्रहले पराजुलीलाई नेपाली आख्यान जगतमा स्थापित पनि गरायो । उनका यी दुबै पुस्तक किताब बजारमा बिक्रीको हिसाबले पनि अब्बल मानिए । कथा लेखनका सन्दर्भमा रहेर पत्रकार तथा लेखक वसन्त पराजुलीसँग कुराकानी गरेका छौँ ।
पत्रकारिता गरिरहेको मान्छे एकाएक कथा लेखनमा होमिनु भयो । साहित्यतिर झुकाव राख्नुको कारण के होला ?
मुलधारको पत्रकारिता गर्दै आइरहेको मान्छे निश्चय नै साहित्य क्षेत्रमा प्रवेश गर्नु अनौठो हैन । दुवै भाषिक बिषय हुन् । पत्रकारिताको जगमा वसेर साहित्यको एउटा विधा कथा लेख्ने प्रयास गरेको हूँ । साहित्य र पत्रकारिता एक रथका दुई पांग्रा हुन् भन्ने मलाई लाग्छ । मेरो जीवनमा यो अन्योन्याश्रित पनि बन्यो । पत्रकारितालाई हतारको साहित्य भन्ने गरिन्छ अर्थात् साहित्य चाहिँ फुर्सदमा मात्रै लेखिने विषय भएजस्तो । हिजो जे भनियो त्यसैलाई मात्र परिभाषामा बुझ्नु आज अव्यवहारिक हुनसक्छ ।
साहित्य र पत्रकारिता दुबै सिर्जनशील क्षेत्र हुन् । पत्रकारिता यथार्थमा आधारित हुन्छ भने साहित्यले यथार्थलाई नै आधार बनाएर परिकल्पनासहित पस्कने गर्दछ । म अहिले साहित्य र पत्रकारिता दुवै क्षेत्रको अन्तर्य र यथार्थसँग नजिकिने अवसर पाएको छु । पत्रकारिता गर्दा गाउँ टोल घुम्दा भेटिएका पात्रहरु नै कथाका पात्रहरु भएकाले पत्रकारितासँगै मेरो साहित्यिक यात्रा शुरु भयो ।
पहिलो कथासङ्ग्रह कुमाता ल्याउनु भयो, दोस्रो मोम्चो आयो । दुबै सङ्ग्रहमा सामाजिक कथा छन् भनिएको छ । तपाईंका कथाले समाजको कुनकुन परिवेशलाई सम्बोधन गरेका छन् ?
मानिसको जीवन आफैमा कथाहरुको सँगालो हो । कथा नहुने मानिस कुनै पनि समाजमा हुँदैनन् । साहित्य भनेकै जीवन भोगाईको अभिव्यक्ति हो । कथामा जीवन लुकेको हुन्छ । आजको समाजमा त जीवन र समाज बिना कथाको परिकल्पना गर्न सकिँदैन ।
यस दृष्टिले कथा र मानिस एकअर्काका पर्याय नै हुन् भन्नु पर्छ जस्तो लाग्छ । मेरा कथाहरु मानवीय जीवनका हरेक पाटालाई समेटेर लेखिएका छन् । समाजका सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक अवस्थाबाट जीवनयापन गर्ने क्रममा भोगिने विषयलाइ नै मैले कथाको मुख्य विषय बनाएको छु ।
यसलाई तपाईंले सामाजिक मनोविज्ञानका रुपमा पनि लिन सक्नुहुन्छ । यौन मनोविज्ञानका रुपमा पनि लिन सक्नुहुन्छ । या महिलाले समाजमा भोगेका हिंसा, दमन र अत्याचारका विरुद्धमा कलम चलाएको रुपमा पनि बुझ्न सक्नुहुन्छ । यति हो कथाहरु सामाजिक र सत्यसँग नजिक भएकाले कथा पढ्दा हृदयलाई नजिकैबाट छोएको अनुभूति हुनुपर्छ । मेरा कथाहरुमा यी कुराहरु छन् भन्ने मलाई लाग्छ ।
लगातार दुबै सङ्ग्रह कथाका आए । समाचारमा दौडिरहेको मान्छे कथामा पनि उसैगरी दौडिइ रहनुभएको छ । साहित्य लेखनको यो दौडमा तपाईंको प्रतिस्पर्धा कथासँगै भैरहन्छ कि अरू बिधामा पनि मोडिनु हुन्छ ?
मेरो २० वर्षे पत्रकारिताका अनुभवलाई समेटेर नै दुई वटा कथासंग्रह प्रकाशन भए । पत्रकारिताका क्रममा समाचारका विषयहरू उठान गर्दै गर्दा भेटिएका पात्रहरूको एकएक जीवन केलाउँदा उनीहरु भित्र सिङ्गो समाज देखेपछि मैलै त्यसैलाई कथाका रुपमा पस्केको हुँ । कथामा मेरो प्रतिस्पर्धा भन्दा पनि पहिलो भन्दा दोस्रो सङ्ग्रह परिष्कृत हुनुपर्छ भन्ने हो । त्यो भैरहेको छ भन्ने पनि लाग्छ । निश्चय नै साहित्यका आफ्ना विधाहरु छन् ती विधाका पनि आआफ्नै महत्व छन् । मैले ती मध्ये कथालाई मुख्य विधा वनाएको हूँ । अरु विधामा कलम नै नचलाउने भन्ने पक्कै हैन । एउटै विधामा मात्रै सिमित रहने भन्ने कुरा पनि रहँदैन । मैले यो विधा लेख्छु भन्दा पनि समयले के माग्छ मेरो नजरले के देख्छ यो त्यसमै निर्भर रहला ।
कुमाता र मोम्चो नारीप्रधान नाम हुन् । अधिकांश कथा पनि नारीकै बिसयमा लेख्नुभएको छ । के महिला माथि कलम चलाउन सजिलो भएर हो ?
मेरो ब्रम्हले दलित र संभ्रान्तमा दलितको पक्षमा, शोषक र शोषितमा शोषितका पक्षमा, धनी र गरिबको द्वन्द्वमा गरिबको पक्षमा, पुरुष र नारीको विषयमा नारीको पक्षमा उभिनुपर्छ भन्छ । भलै म पुरुष हुँ । किनकी हाम्रो समाज पितृसत्तात्मक छ । समाजमा उत्पीडित र शोषित नारी नै छन् । त्यसैले मेरा कथाहरु नारीप्रधान विषय वस्तुमा आधारित भएका हुन् । जहाँ सम्म सजिलो र कठिन विषय उठाउनुभयो त्यो प्रस्तुति शैली र विषयमा भरपर्ने कुरा हुन् ।
बजारमा तपाईंका कृति राम्रो बिक्री भएको सुनिन्छ । एक वर्ष मै कुमाता तेस्रो संस्करण आएको र मोम्चो पनि पहिलो संस्करण सकिएर दोस्रो संस्करणको तयारी भैरहेको सुनियो । तपाईंको किताब पाठकले स्वतस्फूर्त किन पढिरहेका छन् ?
खासमा साहित्य पाठककै लागि लेखिन्छ । लेखककालागि सवै भन्दा ठूलो परिक्षा भनेको पाठकको रोजाईमा पर्ने कि नपर्ने भन्ने विषय नै हो । यो सवालमा म भाग्यमानी ठानिन्छु ।
किनकी मेरा कथाहरु पाठकले रुचाइ दिनुभएको छ । त्यसैले पनि मोम्चो र कुमाता दुवै कृति सर्वाधिक बिक्रीको सूचीमा पर्न सफल भएका छन् । यो सवै श्रेय मेरा आदरणीय पाठकहरुलाई नै जान्छ । मेरा किताब पाठकले स्वतस्फूर्त किन पढिरहेका छन् भन्ने जवाफ पाठकहरु बाटै आउन सक्छ ।
कथा लेख्दा त्यसको बिषयवस्तु छनोट गर्दा सबै कल्पना मै लेख्नुहुन्छ कि कथाको बिषयवस्तु जोडिएको ठाउँमा पुगेर अध्ययन पनि गर्नुहुन्छ ?
कथाहरु भनेको मानवीय प्रवृतिको सूक्ष्म विश्लेषण पनि हो । मन र मस्तिष्कसम्म प्रभाव पार्ने कथा नै समाजका बलिया कथाहरु हुन् । मैले कथा लेख्दै गर्दा पहिला समाजलाई नजिकबाट नियाल्ने गर्छु । समाजमा देखिएका पात्रहरुले भोगेका विषयहरु कथाका रुपमा लेखिने हुँदा यसले मानिसको अन्तरहृदय छुन्छ । अझै भनौँ समाजका हरेक घरमा कथा छन् । एउटा घरको कथा दोस्रो घरका लागि नौलो हुन सक्छ । त्यसलाई काल्पनिकताको जलप लगाएर बाहिर निकाल्न सक्ने हो भने त्यो पाठककालागि रुचिकर पनि बन्छ । मेरा हरेक कथाहरु काल्पनिकतामा मात्रै सिमित छैनन् । यथार्थताभित्र काल्पनिकताको जलप लागेका छन् । यसका लागि मैले पहिला विषय छनौट गर्छु अनि सम्वन्धित क्षेत्रमा पुगेरै घटनाको अनुसन्धान गर्ने गरेको छु । त्यसकारण मेरा कथाका श्रोत भनेका प्राथमिक क्षेत्र नै हुन् । त्यो हाम्रै समाज र यहिँका चरित्र हुन् ।
पाठकले खोज्ने पाठकीय स्वाद तपाईंका किताबबाट पाएका होलान् कि नाइँ ?
पाठकको स्वाद लेखकको जिभ्रोले थाहा नपाउन सक्छ । लेखकको काम भनेको खुरुखुरु लेख्ने हो । कुनै पनि लेखकले समाजको वास्तविकतालाई उजागर गरेर त्यसलाई न्यायिक ढंगले कथामा प्रस्तुत गर्ने हो । कथा लेख्दै गर्दा पाठकले मन पराउलान् वा नपराउलान् भन्ने कुरामा खासै ध्यान पुर्याइँदैन । कथा लेखेर मैले नेपाली समाज नेपाली साहित्य प्रति न्याय गर्न सक्छु कि सक्दिन भन्ने कुरामा नै म वढी केन्द्रित हुने गर्दछु । `कर्म गरौँ फलको आशा नगरौँ´ भन्ने गीताको कर्मयोगमा नै मैले विश्वास गरेको छु । पाठकले मन पराउनु हुन्छ वा पराउनुहुन्न भन्ने कुरा प्रकाशन पछि मात्रै सोचिँदो रहेछ ।
पाठकको रोजाइलाई लेखकले कसरी बुझ्न सक्छन् ?
पाठकले जे पनि पढ्न सक्छन् । आआफ्नो रुचि हुन्छ सबैको । एउटा असल लेखकले पाठकले के पढ्ला भनेर उसकै पछि लाग्नु मात्रै हुन्न । आफूले लेख्न खोजेको बिषयमा निपुण भएर भने लेख्न बस्नुपर्छ । सामाजिक यथार्थ र जीवनको कठिन परिस्थितिहरुको घतलाग्दो प्रस्तुति नै आजका पाठकहरुको रोजाई हो भन्ने मलाई लाग्छ । तर लेखकले आफ्नो कला कौशल देखाउने कोसिस गर्ने हो, पाठकलाई निगरानी गरेर लेख्न बसियो भने झन् पछि परिन्छ कि झैं लाग्छ ।
अन्त्यमा, तपाईंको नयाँ किताबको पर्खाइमा रहेका पाठकलाई के भन्नुहुन्छ ?
कर्म निरन्तर छ । लेख्नु मेरो आदत बनेको छ । सायद मैले लेख्न छोड्छु कि भन्दा पनि यो आदतलाई त्याग्न सक्दिन भन्ने लाग्छ । अरु बाँकी कुरा फेरि गरौंला ।
प्रस्तुति : लेखराम सापकोटा