प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिताः पुरुष क्रिकेटको पछिल्ला खेलमा चितवन र धादिङ विजयी

भरतपुर, ५ चैत ।

प्रथम वाग्मती प्रदेश खेलकूद प्रतियोगिता २०७८ को क्रिकेटतर्फको पछिल्लो खेलमा धादिङ र चितवन विजयी भएका छन् । शनिबार खेलिएको आआफ्नो खेल जित्दै दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

शनिबार खेलिएको पहिलो खेलमा धादिङले काठमाडौँलाई ४ विकेटले पराजित गर्‍यो । काठमाडौँले दिएको १८२ रनको लक्ष्य धादिङले खेल सकिन एक ओभर बाँकी छँदा छ विकेटको क्षतिमा भेट्टाएको थियो । धादिङलाई स्मरणीय जित दिलाउने क्रममा म्यान अफ दि म्याच घोषित भएका अमृत थापाले ८३ रनको योगदान दिए ।

धादिङका उज्ज्वल थापाले २९ रन बनाएको पारीमा काठमाडौँका राजन जिसीले ३ विकेट चट्काए । चार ओभर बलिङ गरेका उनले २३ रन खर्चिएका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौँले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको थियो । उसका लागि रविन जोशीले सर्वाधिक ६८ रनको योगदान गरे । अर्का ब्याट्सम्यान सम्राट भुषालले पनि ४४ रनको पारी खेले । धादिङको तर्फबाट सन्देश सापकोटा र आर्य पौडेलले दुई-दुई विकेट हात पारे ।

शनिबार खेलिएको दोस्रो खेलमा चितवनले नुवाकोटमाथि १०४ रनको फराकिलो जित हात पार्‍यो । चितवनले दिएको २१८ रनको लक्ष्य पछ्याउन उत्रिएको नुवाकोटले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो । नुवाकोटका राजेश रिमालले २७ तथा अभियान बस्नेतले १९ रन बनाएपनि त्यसले टोलीलाई जित भने दिलाउन सकेन । नुवाकोटलाई कम स्कोरमा रोक्न चितवनका संघर्ष पौडेलले सर्वाधिक ३ विकेट हात पारे ।

यसअघि टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको चितवनले १९.५ ओभरमा २१७ रनको विशाल योगफल तयार गरेको थियो । चितवनलाई उच्च योगफलसम्म पुर्‍याउन प्रतिक श्रेष्ठले ७१ रनको योगदान दिए । उनी म्यान अफ दि म्यास समेत घोषित भएका थिए । उक्त पारीमा नुवाकोटका दिपेश कुमालले सर्वाधिक ३ विकेट लिए ।

नुवाकोटले प्रतियोगितामा यसअघि रामेछापलाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो । क्वाटरफाइनल प्रवेशका लागि भएका अन्य खेलमा ललितपुरले दोलखा, तथा काभ्रेले सिन्धुपाल्चोकलाई पराजित गरेका थिए ।

चितवन, मकवानपुर, धादिङ र रसुवाले भने बाइ पाएर सोझै क्वाटरफाइनल खेलेका हुन् । शुक्रबार खेलिएका अन्य दुई क्वाटरफाइनल खेलमा मकवानपुरले ललितपुर तथा धादिङले रसुवालाई हराएका थिए । सेमिफाइनलमा अब चितवनले मकवानपुुरसँग खेल्नेछ भने धादिङले काभ्रेपलाञ्चोकको सामना गर्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट