क्यानभासमा ‘भाइरल घर’

भरतपुर, ५ चैत ।
नारायणी नदी र जयश्री खोला किनारमा बसेर त्यस पेरिफेरीको दृश्यलाई चित्रमा उतार्दै आएका स्थानीय कलाकारको टोली फागु पर्वका दुई दिन बिहीबार र शुक्रबार भरतपुर महानगरपालिका–१ ठिमुरास्थित त्रिशुली नदी किनारमा देखिए । ठिमुरामा हालै निर्माण भएको नेपाली परिवेशको आकर्षक भाइरल घरको छेउमा बसेर ५ जना कलाकारले वरपरको दृश्यलाई चित्रमा उतारे ।
कलाकारहरू बरुणबाबु घिमिरे, मिलन गुरुङ, सन्तोष श्रेष्ठ, प्रमेश कँडेल र सुवास सुनारले दैनिक एकवटा चित्र कोरेर दुई दिनमा १० वटा चित्र बनाए । यो टोलीले नदी तथा खोला किनारमा पुगेर प्रत्येक सोमबार स्थलगत कला कार्यशाला गर्दै आइरहेको छ । पछिल्ला ४ वर्षदेखि स्थानीय कलाकारहरू नारायणी नदी र जयश्री खोलाको किनारमा बसेर पेरिफेरीलाई चित्रमा उतार्दै आइरहेका छन् । यही टोलीले अघिल्लो महिना पनि यहीँ आएर भाइरल घरलाई चित्रमा उतारेको थियो ।

फागु पर्वमा छुट्टी पनि भएको हुनाले ठिमुरामा गएर छुट्टीको सदुपयोग गरिएको कलाकार बरुणबाबु घिमिरेले बताए । नेपालीपनको झल्को दिने आकर्षक घरमा हिजोआज अवलोकनकर्ताको भीड लाग्ने गरेको छ । भाइरल घरलाई पृष्ठभूमिमा राखेर तस्बिर लिने र टिकटक बनाउनेको भिड देखिन्छ । दर्शकको रोजाइमा परेको घरलाई क्यानभासमा उतार्ने इच्छा अनुसार यहाँ आएर चित्र बनाइएको कलाकार घिमिरेले बताए । घर हेर्न आएका अवलोकनकर्ताले चित्र बनाउँदै गरेका कलाकारसँग फोटो खिचाउँदै टिकटक पनि बनाएका थिए ।
टोलीमै रहेका अर्का कलाकार प्रमेश कँडेलले स्थलगत कार्यशालामा सामेल भएर चित्र बनाउँदा छुट्टै आनन्द मिलेको बताए । घरभित्र बसेर चित्र बनाउँदा हुने उकुसमुकुसलाई खुला ठाउँमा बसेर चित्र बनाउँदाको आनन्दले भुलाएको उनको प्रतिक्रिया थियो । ’चित्र कोर्दै जाँदा आँखाले देखिरहेको दृश्य तत्कालै घामको हिँडाइसँगै परिवर्तन हुनाले क्यानभासमा कोरिइसकेको चित्रलाई थप मेहनत गर्नुपर्दा झन्झट पनि लाग्दो रै’छ’ कँडेलले भने, ‘स्थलगत कार्यशालामा सहभागी हुँदा साथीहरूको अभ्यास हेर्न पाइने र आफूलाई तत्कालै करेक्सन गर्न पाइने हुनाले यो अभ्यास महत्वपूर्ण सिकाइ भएको ठानेको छु ।’

भाइरल घर त्रिशुली नदी किनारमा छ । यो घर एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरका संचालक डाक्टर प्रमोद लामिछानेको हो । २०७२ सालको भूकम्पले लमजुङमा रहेकोे आफ्नो पुरानो घर भत्काएपछि सोही घरलाई स्मरणयोग्य बनाउन डाक्टर लामिछानेले त्रिशुली किनारमा सोही डिजाइनको घर बनाउन लगाएका हुन् । छेवैमा लामिछानेकै लगानीमा ठिमुरा रिसोर्ट संचालनमा छ ।

एक महिनाअघि आफ्नो घरलाई कलाकारको क्यानभासमा देखेर दंग परेका डाक्टर लामिछानेले कलाकार घिमिरेले बनाएको चित्र राम्रो मूल्य दिएर खरिद गरेका थिए । ‘यसपटक बनाएका चित्र पनि डाक्टर सा’बले खरिद गर्ने इच्छा राख्नुभएको छ’ घिमिरेले बताए ।

‘त्रिशुली किनारमा उभिएको तीनतले आफ्नो घर यसरी भाइरल होला भनेर सोचेको थिइन’ डाक्टर लामिछानेले भने, ‘लमजुङमा रहेकोे पुर्ख्यौली घर भूकम्पले क्षति भएपछि त्यसैको सम्झनास्वरुप चितवनमा यो घर बनाउन लगाएको हुँ ।’

लमजुङमा रहेका बुबाआमा चितवन आउँदा यही घरमा बस्ने गरेको डाक्टर लामिछानेले सुनाए । उनी आफू पनि कहिलेकाहीँ यही भाइरल घरमा बास बस्ने गरेका छन् ।
‘अहिले यो घर हेर्न टाढाटाढाबाट मानिसहरू आउने गर्नुभएको छ । मलाई यो घर मेरोभन्दा पनि आममानिसको घर जस्तो लागेको छ । यो घरलाई जनताको घर भनेर चिनाउन चाहन्छु । यहाँ आएर घरलाई पृष्ठभूमिमा राखेर, घरैभित्र छिरेर पनि कतिपयले फोटो लिनु भएको छ, टिकटक बनाउनु भएको छ, विभिन्न भिडियोहरू बनाउनु भएको छ, कतिपय कलाकारले आफ्ना गीतसंगीत यहीँ सुटिङ गर्नुभएको छ । यो देखेर मलाई छुट्टै आनन्द मिलेको छ’ डाक्टर लामिछानेले भने ।

पाँच जना कलाकारले बनाएका १० वटा चित्रले पनि डाक्टर लामिछानेको मन लोभ्याएको छ । उनी भन्छन्, ‘यो घरको लोकप्रियता देखेर, यहाँका कलाकारले पनि यो घरप्रति चासो राखेको देखेर होली पर्वमा भिड हुने भएकोले कलाकारको टोलीलाई पुनः बोलाएर चित्र कोर्न लगाएको हुँ । उहाँहरूले बनाएका यी सबै चित्र खरिद गरेर यही घरमा, अस्पतालमा र रिसोर्टमा सजाउने मेरो इच्छा छ ।’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट