गरिबीले गर्दा चेपाङ बस्तीहरुमा वर्षभरि खान पुग्ने अन्न हुँदैन । खोरिया फाँडेर गरिने खेतीले ६ महिना पनि खान पुग्दैन । ती दिनमा जंगली कन्दमुलको भर पर्नुपर्ने हुन्छ ।
जंगली च्याउ खाएर ज्यान गएका घटना पनि छन् । खानकै लागि यत्रो संघर्ष गर्नुपर्ने चेपाङ समुदायमा शिक्षा भनेको अलि परको कुरा हुन पुगेको छ ।
त्यसमाथि घर नजिकको विद्यालयमा माध्यमिक तहको पढाई नहुँदा धेरै अभिभावकले आफ्ना बालबालिकालाई प्रारम्भिक शिक्षामै सीमित बनाउँछन् । गाउँमा छात्रावास निर्माण गरी चेपाङ बालबालिकालाई माध्यमिक तहको शिक्षा दिने कुरामा केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार असफल देखिएका छन् ।
जनताले सरकारकै मात्र मुख ताकेर बस्ने हो भने समाज कसरी अगाडि बढ्न सक्छ र रु त्यसैले त कालिका नगरपालिका–१० सिद्धिमा भरत चेपाङले आफूले पढ्ने बेलामा पाएको दुःख आफ्नो समुदायका अरुले नपाऊन् भन्ने उद्देश्यले गाउँमा छात्रावास खोले । त्यो पनि आफ्नै घरमा ।
भरतलाई साथ दिइरहेकी छिन् उनकी श्रीमती ज्ञानिताले । एसएलसीसम्मको पढाइ अरुकै घरमा काम गर्दै पूरा गरेका भरतले आफन्तबाट थप पढाइका लागि नभई विदेश जान ऋण पाए । कलेज जाने बेलामा विदेश हानिएका उनले फर्केपछि ओखलढुंगाकी ज्ञानिता राईसँग विवाह गरे ।
ज्ञानिताले सानैमा आमा बितेपछि मामाको सहयोगमा १२ कक्षासम्म पढेकी थिइन् । बिहेपछि उनले सिद्धिको एक विद्यालयमा प्रारम्भिक बाल विकास ९इसिडी० का विद्यार्थीलाई पढाउन थालिन् । पूर्वको राई समुदायमा जन्मेर काठमाडौंमा पढाइ गरेकी उनले चेपाङ समुदायका बालबालिकालाई विद्यालयमा गरिने विभेद देखिन् । शिक्षकले विद्यालयमा चेपाङ समुदायका विद्यार्थीलाई हेयको व्यवहार गर्थे, जुन उनलाई बिझ्थ्यो ।
उनी विद्यालयबाट फर्केपछि श्रीमानलाई सबै सुनाउँथिन् । आफै भुक्तभोगी भरतलाई पनि थप पीडानुभूति हुन्थ्यो ।
पढाइको महत्व राम्रोसँग बुझेका भरतले विदेशबाट फर्केपछि बेलाबेला गाउँ पुग्दा चेपाङ बालबालिका विद्यालय टाढा भएकै कारण शिक्षाबाट बञ्चित भएको, एउटै कक्षा दोहो¥याउनु पर्ने बाध्यतालाई नजिकबाट नियालिरहेका थिए । भरत र ज्ञानिता चेपाङ बालबालिकाको लागि छात्रावास बनाउने टुंगोमा पुगे ।
उनीहरुले दुई कठ्ठा जग्गा बेचेर बाख्रागोठलाई ब्लक लगाई छात्रावास बनाए । छात्रावासमा २० जना छात्र र १५ जना छात्रा छन् । छात्रावास त बन्यो, संचालनमा समस्या आइरहन्छ । दाताको खाँचो परिरहन्छ । छात्रावास सञ्चालनका लागि स्थायी स्रोत केही छैन । ८ देखि १८ वर्षसम्मका विद्यार्थीहरु छात्रावासमा बस्छन् । नजिकैको सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । त्यहाँ बस्ने विद्यार्थीलाई खाद्यान्न जोहो गर्ने चुनौती यथावत छ । सहयोगी मनहरु जुटौँ । चेपाङ छात्रावासलाई सहयोग गरौँ ।






