गायक प्रकाश सपुतले शुक्रबार मात्रै युट्युबमार्फत् “पिर” बोलको गीत सार्वजनिक गरे । आइतबार साँझसम्म मात्रै गीतको भिडियोले २१ लाखभन्दा बढी भ्युज पाइसकेको छ । दशवर्षे माओवादी जनयुद्धमा सहभागी भएका माओवादी लडाकूहरूले हाल बेहोरिरहेको कारुणिक अवस्थालाई गीतको प्रमुख विषयवस्तु बनाइएको छ ।
युट्युबको ट्रेण्डिङमा पहिलो स्थानमा रहेको उक्त गीतलाई अधिकांश दर्शक तथा स्रोताले रुचाएका छन् । सत्ता र शक्ति हात पार्न आफ्नो नीति र विचारलाई नै तिलाञ्जली दिन पछि नपर्ने नेताहरूको प्रवृत्ति देखेर दिग्दार बनेका सामान्य नागरिकले गीतले यथार्थ चित्रण गरेको दाबी गरिरहेका छन् । तर नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताका लागि भने गीतले नसोचेको आँधीहुरी ल्याएको छ ।
गीति भिडियोको एउटा अंशमा कुनै एउटी पूर्वमाओवादी लडाकूले जीविकोपार्जन गर्न देहव्यापारको बाटो रोजेको अवस्था देखाइएको छ । त्यो अंशले माओवादी जनयुद्ध र लडाकूहरूको अपमान गरेको भन्दै पार्टीका नेता तथा कार्यकर्ता गायकमाथि खनिन पुगेका छन् । आलोचना र प्रतिक्रियालाई सहजै ग्रहण गर्न नसकेर उनीहरूले आफ्नो कमजोरी त उदांगो पारेका छन् नै, साथमा प्रजातान्त्रिक मूल्य र मान्यताको समेत धज्जी उडाएका छन् । कुनै पनि सर्जकका सृजना पूर्णरूपमा सत्य नहुन पनि सक्छन् । सृजनामा कल्पनाशक्तिको प्रयोग हुने भएकाले गीतले शतप्रतिशत साँचो कुरा गरेको छ भन्नु व्यक्तिको अल्पज्ञान मात्रै ठहरिन्छ । प्रकाश सपुतको ‘पिर’ ले जो जसलाई पिर थपिदिएको छ, उनीहरुले आफ्ना कमजोरीको निर्मम समीक्षा गर्न जरुरी छ ।
चलचित्र, गीतसंगीत र साहित्यलाई समाजको ऐनाका रूपमा पनि लिने गरिन्छ । किनकी उसले समाजका प्रतिनिधिमूलक पात्रहरूको कुरा समेटेको हुन्छ । माओवादीको नेतृत्व वर्गबाट ठगिएका लडाकूहरू हाल पिल्सिएर बाँच्न बाध्य छन् । आफ्ना आधारभूत आवश्यकता पूरा गर्न मात्रै पनि उनीहरू कति हदसम्मको सम्झौता गर्न विवश छन् भन्ने पक्षलाई गीतले उजागर गरेको छ । गीतको यो छोटो अंशलाई पूर्ण भनी बुझ्नु पक्कै पनि सान्दर्भिक हुँदैन ।
नेपाली जनताले दशवर्षे गृहयुद्ध र त्यसपछिको दोस्रो जनआन्दोलनमा त्यसै सहभागिता जनाएका होइनन् । स्वतन्त्रतापूर्वक बाँच्न र बोल्न पाइयोस् भनेर नै नेपाली जनताले निरंकुश राजसंस्थाविरोधी कदम चालेका हुन् । कुनै सर्जकले आफू अनुकूल हुने सृजना गरिदिएनन् भनेर तिनको कृतिमाथि प्रतिबन्द लगाउन खोज्नुले राजनैतिक दलहरूमा तानाशाही र निरंकुश प्रवृत्तिको विकास त भएको होइन भन्ने प्रश्न खडा गरिदिएको छ । यस मानेमा दलहरूभित्र सुधारको आवश्यकता देखिएको छ ।





