अर्को मेलम्ची नबनोस् नारायणगढ–बुटवल सडकखण्ड

नारायणगढ–बुटवल सडकखण्डलाई एसियन राजमार्गको स्तरमा विस्तार गर्ने भनेर सम्झौता भएको ३६ महिना पूरा भयो । ४२ महिनाभित्र काम सम्पन्न गर्नेगरी २०७५ सालको माघ २४ गते सम्झौता भएको सडकको प्रगति अहिलेसम्म करिब १५ प्रतिशतमात्रै छ । कार्य प्रगतिको यो कछुवागति हेर्दा नारायणगढ–बुटवल सडकखण्ड बिस्तारको काम अर्को मेलम्ची बन्ने हो कि भन्ने आशंका जन्मिएको छ । त्यस्तो नहोस् । निर्धारित समयमै सडक बिस्तारको कामले पूर्णता पाओस् ।

‘पानी पर्दा हिलो, घाम लाग्दा धुलो’ को पहिचान बनेको यो सडकखण्ड बिस्तारको काम समयमै सकिएर सडक प्रयोगकर्ताले सास्ती व्यहोर्नु परेको वर्तमान अवस्थाको अन्त्य होस् । पटकपटक डाइभर्सन नै बगेर राजमार्ग बन्दको अवस्था अब नआओस् ।

२०१८ सालमा तत्कालीन राजा महेन्द्रले गैंडाकोटमा शिलान्यास गरेको सडक ५७ वर्षपछि फराकिलो हुन थालेको हो । अहिले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको ११४ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ । बिस्तार कार्यको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवलमा गरेका थिए । हाल दुई लेन रहेको नारायणगढ–बुटवल सडकखण्डलाई विस्तार गर्दै कतै चार लेन, कतै ६ र तीन लेनको बनाउन लागिएको छ । गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहने छ ।

यो सडकले रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गरी तीन जिल्लालाई छुन्छ । सडक विस्तारका क्रममा अहिले पुल, कल्भर्ट, निर्माण, ड्रेन निर्माण तथा सडक किनारमा माटो भर्ने काम भइरहेको छ । कतिपय स्थानमा सबै काम सकेर कालेपत्रे सुरु गर्ने तयारी भएको छ । चार लेनमा विस्तार हुने नारायणगढ–बुटवल सडकका दुई–दुई लेनको बीचमा ‘ग्रीनरी’ हुनेछ । तीन मिटर चौडा रहने बीच भागमा बिरुवा रोपिने छ । हाल रहेको दुई लेनको सडक बिस्तारपछि दुबैतर्फ ७/७ मिटर फराकिलो सडक हुनेछ । बजार क्षेत्रमा ६/६ मिटरको ‘सर्भिस लेन’ पनि बन्नेछ । बजार क्षेत्रको २८ किलोमिटर सडकमा अतिरिक्त सर्भिस लेन बन्नेछ । दाउन्नेको उकालो र ओरालोको १२ किलोमिटर सडक भने तीन लेनको मात्रै बनाइँदैछ ।

काम भइरहेको छ, ढिलाई नहोस् । राजमार्ग बिस्तारमा भएको ढिलाइले सडक प्रयोगकर्ता मात्र नभई स्थानीय व्यापारीहरु समेत मारमा परेका छन् । बाटोको धुलोका कारण ग्राहक नै आउँदैनन् । सडक बिस्तारको कामले कहिले पूर्णता पाउने हो, थाहा छैन । सडक बिस्तारको कामले अत्याधिक जाम हुँदा निर्धारित समयमा गन्तव्यमा पुग्न नसकिने समस्या पनि देखिएको छ । बाटोमा उड्ने धुवाँ, धुलोका कारण रुघाखोकीको समस्या बढ्न थालेको छ । यी सबै समस्याको निराकरण भनेको यथाशिघ्र सडक बिस्तारको काम सम्पन्न गर्नु नै हो ।

सरकारसँग भएको सम्झौताअनुसार निर्माण कम्पनी चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले आगामी २०७९ सालको साउन २२ गतेसम्ममा सडक निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । तर यो मितिभित्र निर्माण सकिने सम्भावना भने देखिँदैन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट