नेपाललाई खुलेन विश्वकपको ढोका, यूएईसँग पराजित

भरतपुर, १० फागुन ।
टी २० विश्वकप छनोट ‘ए’ को सेमिफाइनलमा नेपाल पराजित भएको छ । ओमनस्थित अल अमरेत मैदानमा नेपाली टोली यूएईसँग ६८ रनले पराजित भएको हो । छनोट चरणको निर्णायक खेलमा यूएईसँग पराजित भएपछि नेपालले टी२० विश्वकप २०२२ खेल्न नपाउने भएको छ । नेपालले आशा गरेको विश्वकपको ढोका यसपटक भने खुलेन ।

टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपाल फितलो ब्याटिङ गर्दै १८.४ ओभरमा १०७ रनमा समेटियो ।

पहिलो विकेटका रुपमा चिराग सुरीलाई ४ रनमै गुमाएको यूएईलाई आक्रामक सुरुवात गराएका वृत्य अरविन्द २३ बलमा ५ चौका र ३ छक्काको सहायतामा ४६ रन बनाउँदा सन्दीप लामिछानेबाट बल्ड आउट भए। त्यस्तै मोहम्मद वसीमले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७० रन बनाउँदा मोहम्मद उस्मानले १७ रन र जवार फरिदले ११ रन बनाए ।

बलिङतर्फ नेपालका लागि जितेन्द्र मुखिया र अभिनास बोहोराले सर्वाधिक ३ विकेट लिँदा सन्दीप लामिछानेले महत्वपूर्ण एक विकेट लिँदै टिमलाई ब्रेक थ्रू दिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ओपनर द्वय आशिफ शेख र कुशल भुर्तेललाई सस्तैमा गुमाएको थियो। शेख शुन्य रनमै आउट हुँदा भुर्तेलले ७ रन जोडे । त्यस्तै लोकेश बमको खराब फर्मले आजको खेलमा पनि निरन्तरता पायो । उनी गोल्डन डक हुँदै बाहिरिए ।

त्यसपछि आएका दीपेन्द्रसिंह ऐरीले आरिफ शेख र ज्ञानेन्द्र मल्लसँग साझेदारी गरेर स्कोर केही उकासे पनि त्यो पर्याप्त भएन । उनले सर्वाधिक ३८ रन बनाउँदा मल्लले २० र आरिफले ११ रन बनाए । त्यसपछिका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

यूएईका लागि अहमेद राजाले सर्वाधिक ५ विकेट लिँदा जुनैद सिद्दकीले ३ विकेट लिए । त्यस्तै रोहन मुस्तफा र जहुर खानले समान १ विकेट लिए ।

नेपाललाई हराएसँगै यूएई अस्ट्रेलिया विश्वकपका लागि छनोट भएको छ भने नेपाल बाहिरिएको छ ।

आजै सम्पन्न अर्को सेमिफाइनल खेलमा ओमनलाई हराउँदै आयरल्याण्डले विश्वकपको टिकट सुरक्षित गरेको छ । नेपालले अहिलेसम्म एकपटकमात्रै विश्वकप खेलेको छ । सन् २०१४ को टी२० विश्वकपमा नेपाल छनोट भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट