फेसबुकबाट पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेपछि चर्चामा छन् ‘अटेरी’ गनेस पौडेल । गनेससँगै चर्चामा छ उनले सुरु गरेको अटेरी युवा अभियान । यो अभियानको नारा छ, ‘आउनुहोस् केही त गरौँ । अति भो, अटेर गरौँ ।’ नेपालमा राजनीतिक अकर्मण्यता बढेर गएको महसुस गरेपछि जन्मिएको हो यो अभियान । दलगत राजनीतिले समाजका हरेक क्षेत्रलाई गिजोलेपछि असन्तुष्टि पोख्दै युवाहरु अटेरी अभियानमा जुटेका छन् । अटेरी युवा अभियान अन्तर्गत राजधानी काठमाडौँलगायत देशका १५ भन्दा बढी स्थानीय निकायमा उम्मेदवारी घोषणा गरेका छन् ‘अटेरी’ युवाले । आगामी वर्ष वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनसम्म यो संख्या अझै बढ्ने देखिन्छ ।
‘स्थानीय निर्वाचनलाई दलविहीन बनाऔँ, निर्दलीय बनाऔँ’ भन्ने सोचका साथ अटेरी अभियानमा जुटेका युवालाई मतदाताको साथ अपरिहार्य छ । परिवर्तन चाहने हो भने आँखा चिम्लेर दलको पछाडि लाग्ने काम बन्द गर्नुपर्छ ।
जनसेवाको स्पष्ट दृष्टिकोण बोकेका अटेरी युवाहरुलाई हामीले साथ दिनुपर्छ । दलदलमा फँसेका दलहरुले गलत काम गरे पनि आँखा चिम्लेर ‘ज्ञानी’ नबनी दलभित्रका इमानदार नेता तथा कार्यकर्ता ‘अटेरी’ बन्नु पर्ने अवस्था आएको छ । अन्यथा देश नै असफल राष्ट्र बन्ने खतराको बादल नेपाली राजनीतिक आकासमा मडारिएको छ । पैसा नभई शिक्षा, स्वास्थ्य, न्याय नपाउने अवस्थाको अन्त्य जरुरी छ । धनीहरुले नै राजनीति डोर्याउने हो भने बहुसंख्यक गरीबको जीवनमा परिवर्तनको घाम उदाउन पाउने छैन ।
सद्भाव समूह गठन गरी शुभचिन्तकबाट पाँच हजारदेखि एक लाख रुपैयाँसम्म निःस्वार्थ सहयोग लिने अटेरी अभियानको नीति अनुकरणीय छ । ठेकेदार, व्यापारी, दलालहरुबाट आर्थिक सहायता लिएर त्यसको प्रभावमा पर्नुभन्दा जनतालाई घोषणापत्र बेचेर चुनाव खर्चको जोहो गर्ने सोच सलामयोग्य छ । चुनावी खर्चमा व्यापक कटौती गरी मितव्ययी बन्ने सन्देश ‘अटेरी’ युवाहरुले दिएका छन् । यस्तो राम्रो कामको सिको अरुले पनि गर्ने हो भने चुनावमा हुने फजुल खर्चमा कमी आउने थियो ।
पैसाको बलमा हुने अस्वस्थ्य चुनावी प्रतिस्पर्धामा पनि लगाम लाग्ने थियो । खर्चिलो चुनावबाट आउनेहरुले आर्थिक परिपूर्तिका लागि भ्रष्टाचारको सहारा लिने गर्छन् । त्यसैले पनि अटेरी अभियानलाई साथ दिनु भनेको भ्रष्टाचारलाई कम गर्नु पनि हो । यसतर्फ मतदाताको ध्यान जानुपर्ने देखिन्छ ।




