माघ महिनाको पहिलो हप्तादेखि उकालो लागेको कोरोना संक्रमण माघको अन्तिम हप्तासम्म आइपुग्दा ओरालो लाग्ने क्रममा छ । यसबीचमा देशभर खोप अभियान तिव्रताका साथ अगाडि बढाइएको छ । सार्वजनिक क्षेत्रमा सेवा लिँदा खोप कार्ड अनिवार्य गरेसँगै वयस्कहरुले खोप लिन लाइन लागे । पछिल्लो समय विद्यालयमा अध्ययनरत बालबालिकालाई खोप लगाउने अभियान चालु छ ।
चितवनमा दुई दिनमा ३५ हजारभन्दा बढी बालबालिकाहरुले कोरोना विरुद्धको खोप लगाए । कोरोना भाइरसविरुद्ध कुनै औषधी नभएको वर्तमान अवस्थामा संक्रमणबाट जोगाउने एकमात्र उपाय खोप नै हो । सबैको पहुँचमा खोप पुग्नु पर्छ । यतिबेला विद्यालयबाहिरका बालबालिकाले भने खोप पाउन सकेका छैनन् । यसतर्फ राज्यको ध्यान जानुपर्ने देखिन्छ ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार माघ २३ गतेबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबलिकहरुका लागि सुरु भएको खोप अभियानमा सोमबारसम्म ३५ हजार २१८ जना बालबालिकाले मोडर्ना खोप लगाएका हुन् । सोमबार चितवनका विभिन्न स्थानीय तहमा एकैदिन १८ हजार ९९० जनाले खोप लगाएका छन् । दुई दिनमा भरतपुर महानगरपालिकामा २० हजार ६ सय ६२ जना बालबालिकाहरुले खोप लगाएका छन् । माडीमा दुई हजार ५ सय ८८, रत्ननगरमा ६ हजार दुई सय ४४ जनाले खोप लगाइसकेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यस्तै राप्तीमा दुई हजार १ सय २१ जना, कालिकामा दुई हजार ५ सय ५८, इच्छाकामनामा एक हजार ४५ बालबालिकाले खोप लगाए ।
कालिका, राप्ती, रत्ननगर र माडी नगरपालिकामा पनि १२ देखि १७ वर्षका बालबलिकाहरुलाई २३ गतेदेखि बुधबारसम्मका लागि खोप अभियान सञ्चालन गरे । खैरहनीमा भने २७ गतेसम्मका लागि खोप अभियान सञ्चालन भइरहेको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवनमा ८० हजारभन्दा बढी विद्यार्थीलाई मोडर्ना खोप लगाइनेछ । यसका लागि विद्यालयमा नै खोप केन्द्र स्थापना गरिएको छ । दुई सयभन्दा कम विद्यार्थी भएका विद्यालयलाई मर्ज गरेर एउटै खोप केन्द्र स्थापना गरिएको छ । यति हुँदाहुँदै पनि विद्यालयबाहिर रहेका १२ देखि १७ वर्षका बालबालिकाको हकमा भने अहिलेसम्म खोपको कुनै व्यवस्था हुन सकेको छैन । विद्यालयबाहिर रहेका बालबालिकाले पनि खोप पाउने अधिकार भएकोले सरकारले त्यस किसिमको व्यवस्था गर्नुपर्छ ।




