साढेसातीको ज्योतिषीय महत्त्व

ज्योतिषशास्त्रमा सूर्यपुत्र ग्रह अर्थात् शनीलाई दुःखको कारक ग्रह मानिन्छ । शनि ग्रहको गति मन्द हुन्छ । शनिलाई कर्मको न्यायाधीश मानिन्छ । शनि पापी ग्रह, तमोगुणी ग्रह भएकाले पनि ज्योतिष शास्त्रमा यसलाई अशुभ ग्रह मानिएको हो । शनि ग्रहको कालो वर्ण आलसी स्वभावको, दीर्घ प्रकृतिको हुन्छ भनेर वराहमिहिरले पनि बताएका छन् । साढेसाती भनेको नामले नै जनाएझैँ साढे सात वर्षको अवधि हो । शनि ग्रहले सम्पूर्ण राशिचक्रको एक फेरा पूरा गर्न करिब ३० वर्ष लगाउँछ । राशिचक्रमा १२ वटा राशिहरू भएकाले शनि प्रत्येक राशिमा औसत रूपमा करिब साढे दुई वर्ष बस्छ ।

अहिलेको समयमा गोचरमा शनि मीन राशिमा रहेको छ । यदि मानौँ आज शनि मीन राशिको १५ डिग्रीमा हुनुहुन्छ भने त्यसको अर्थ उसले मीन राशिको आधा यात्रा पूरा गरिसकेको छ, किनकि एउटा राशिमा ३० डिग्री हुन्छ । सरल हिसाबले हेर्दा शनि करिब १ वर्ष ३ महिना अघि मीन राशिमा प्रवेश गरेको थियो र अर्को १ वर्ष ३ महिना त्यहीँ रहनेछ । यसरी एउटा राशिमा जम्मा साढे दुई वर्षको समय बित्छ ।

साढेसाती कसरी गणना हुन्छ त ? कुनै व्यक्तिको जन्मकुण्डलीमा चन्द्रमा जुन राशिमा छ, त्यसलाई उसको राशि मानिन्छ । यदि तपाईँको राशि मीन छ भने शनि कुम्भ राशिमा प्रवेश गरेदेखि साढेसाती सुरु भएको मानिन्छ । त्यसपछि शनि मीन राशिमा रहँदाको अवधि मध्य साढेसाती हुन्छ र अन्त्यमा मेष राशिमा रहँदाको अवधि साढेसातीको अन्तिम चरण मानिन्छ । (कुम्भ, मीन र मेष) यी तीन राशिमा शनिले बिताउने साढे सात वर्षको अवधिलाई नै साढेसाती भनिएको हो ।

उदाहरणका लागि यदि तपाईँको राशि कन्या हो भने शनि सिंह राशिमा प्रवेश गर्दा तपाईँको साढेसाती सुरु हुन्छ । त्यसपछि कन्या राशिमा आउँदा मध्य साढेसाती र तुला राशिमा प्रवेश गरेपछि अन्तिम चरण सुरु हुन्छ । तुला राशिबाट शनि बाहिरिएपछि साढेसाती समाप्त भएको मानिन्छ ।

यहाँ बुझ्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा के हो भने साढेसाती चन्द्रमासँग सम्बन्धित गोचर हो । चन्द्रमाले मन, भावना, सोच, मानसिक शान्ति, सुरक्षा भावना र हाम्रो प्रतिक्रिया दिने शैलीलाई प्रतिनिधित्व गर्छ । त्यसैले साढेसातीको प्रभाव धेरैजसो मानिसको मानसिकता, निर्णय प्रक्रिया र जीवनलाई हेर्ने दृष्टिकोणमा देखिने गर्छ । कसैलाई यही समयले परिपक्व बनाउँछ, कसैलाई अनुशासन सिकाउँछ, कसैलाई जीवनको वास्तविकता बुझाउँछ र कसैलाई आध्यात्मिक यात्रातर्फ डोर्‍याउँछ ।

साढेसातीको नाम सुन्नासाथ धेरै मानिसको मनमा दुःख, हानि, रोग, दुर्घटना वा समस्याको चित्र आउँछ । तर वास्तविकता के हो भने साढेसातीले सबैका लागि एउटै प्रकारले काम गर्दैन । यदि साढेसाती आफैँमा नराम्रो मात्र हुने भए, इतिहासमा धेरै मानिसहरूले जीवनकै ठूलो सफलता, उच्च पद वा महत्वपूर्ण उपलब्धि यही समयमा प्राप्त गरेका उदाहरणहरू भेटिने थिएनन् ।

शनि ग्रहको स्वभाव सुख दिनुभन्दा जिम्मेवारी दिनेतर्फ बढी केन्द्रित हुन्छ । त्यसैले कतिपय मानिसले साढेसातीमा जागिर गुमाउँछन् भने कतिपयले ठूलो पद प्राप्त गर्छन् । बाहिरबाट हेर्दा प्रधानमन्त्री बन्नु, मन्त्री बन्नु, कम्पनीको प्रमुख बन्नु वा ठूलो व्यवसाय सम्हाल्नु राम्रो घटना जस्तो देखिन्छ । तर शनिको दृष्टिकोणबाट हेर्ने हो भने त्यहाँ आराम होइन, जिम्मेवारी बढेको हुन्छ ।

मेरो बुझाइमा शनि सुख वा दुःख बाँड्ने ग्रहभन्दा पनि कर्म, जिम्मेवारी र परिपक्वताको पाठ सिकाउने ग्रह हो । यदि कुनै व्यक्ति पहिलेदेखि नै अनुशासित, मेहनती र जिम्मेवार छ भने शनिले उसलाई अझ ठूलो जिम्मेवारी र उपलब्धि दिन सक्छ । तर यदि व्यक्ति हतार गर्ने, अव्यवस्थित वा वास्तविकताबाट भाग्ने स्वभावको छ भने शनिले कठिन अनुभवमार्फत जीवनका आवश्यक पाठहरू सिकाउन पनि सक्छ । त्यसैले साढेसातीलाई केवल डरको समय भनेर हेर्नुभन्दा पनि जीवनले आफूलाई अझ परिपक्व, जिम्मेवार र वास्तविक बनाउने एउटा चरणको रूपमा बुझ्दा यसको अर्थ धेरै स्पष्ट हुन सक्छ ।

आखिरमा शनि सजाय दिनुभन्दा पनि मानिसलाई समय, कर्म र जिम्मेवारीको मूल्य बुझाउन आएका शिक्षक हुन् भन्ने मेरो बुझाइ हो । सात वर्ष ६ महिनासम्म भोग्न पर्ने भएकाले साढेसाती नाम रह्यो भन्ने कुरा प्रामाणिक ग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ । यसलाई आदि, मध्य र अन्त्य गरी तीन भागमा वर्गीकरण गरिएको छ । साढेसाती र अढैया भनेर दुई भागमा वर्गीकृत पनि छन् । शास्त्रीय प्रमाणसहित (ज्योतिः सारमा मिश्रप्रकरणम् -२५) व्याख्या गरिएको पाइन्छ :-

राशौ द्वादशजन्मशीर्ष हृदये पादे द्वितीये शनि ।
नानाक्लेशकरोऽतिदुर्जनजनान्पुत्रान्पशून्पीडयेत् ।।

अतः यो साढेसाती र अढैयाले सधैँ दु:ख दिँदैन र कुण्डलीमा शनि पापपीडक, अशुभ भएर बसेको छ भने र चन्द्रमासँगै शनि यूति वा दृष्टद्वारा विषयोग बनाएको छ भने र तमग्रहद्वारा शनि खराबी छ भने मात्र नराम्रो गर्छ ।

विशेषतः पशु चौपायमा कष्ट, मानसिक समस्या, आलसीपन ल्याउनसक्ने सम्भावना हुन्छ । अतः सदा अशुभ गर्छ भन्ने चाहिँ हुँदैन । यदि शनि योगकारक छ भने साढेसातीमा अशुभ फल दिँदैन । यो गोचरीय फल हो । जन्मकुण्डलीअनुसार शनिको फलमा पनि भिन्नता रहन्छ । शनिजन्य अरिष्ट शान्तिका निमित्त देवीको पूजा, शनिको जप, स्तोत्रपाठ, शनिमृत्युञ्जय पाठ, नीलम वा फलाम रत्न धारणका साथै शनिवार पिपलको दर्शन, जल अर्पण शुभ मानिन्छ ।

पिपलको प्रार्थना गर्ने मन्त्र :-

अश्वत्थ यस्मिन् त्वयि वृक्षराजे
नारायणस्तिष्ठति सर्वकाले ।
अतः स्तुतस्त्वं सततं तरुणाम्
धन्योऽसि चारिष्टविनाशकोऽसि ॥

पिपलमा जल चढाउने मन्त्र :-

मूलतो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणे ।
अग्रतः शिवरूपाय अश्वत्थाय नमो नमः ॥

ज्योतिषा वाधते तमः
***
(लेखक वेद वेदाङ्ग संस्कृत विद्यापीठमा अध्यनरत हुनुहुन्छ ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट