हेटौंडा, २६ माघ ।
हेटौंडा उपमहानगरपालिका–१० राप्तीतटमा शवदाहका लागि मेसिन जडान गर्ने कार्य सुरु भएको छ ।
उपमहानगरपालिकाले आफ्नो योजनाअनुसार शवदाहका लागि मेसिन जडान गर्ने कार्य सुरु गरेको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।
सो मेसिन उपमहानगरपालिकाले भारतबाट रु ५५ लाख ६५ हजारमा खरिद गरी ल्याएको बताइएको छ । यही माघ महिनाको अन्त्यसम्ममा मेसिन जडान सकेर शवदाहका लागि तयार हुने उपमहानगरपालिकाले जनाएको छ ।
मेसिनको प्रयोगपछि शवदाहको क्रममा दाउराको खपत रोकिने, वातावरण प्रदूषण नहुने र छोटो समयमै शवदाहको कार्य सकिने बताइएको छ ।
एक सय १० फिट अग्लो चिम्नीसहितको मेसिनमा शवदाहका लागि शुल्क तिर्नु नपर्ने उपमहानगरपालिकाले जनाएको छ। मेसिनमा शवदाह गर्दा वरपरको क्षेत्रमा समेत दुर्गन्ध हुने समस्यासमेत हट्ने बताइएको छ । -रासस




