भरतपुर, २८ पुस ।
चितवन महोत्सव परिसरमा वे ग्रुप नेपालले राखेको स्टलमा म फोहोर गर्दिन भनेर हस्ताक्षर संकलन भइरहेको थियो । त्यहाँ राखिएको पुस्तिकामा हस्ताक्षर गर्दै गर्दा भेटिइन् भरतपुर ११ बसेनीकी बेलीमाया राना मगर । उनीसँगै आएका अरु तिन जनाले पनि सो हस्ताक्षर संकलन अभियानलाई ऐक्यवद्धता जनाउँदै पुस्तिकामा हस्ताक्षर गरे ।
वे ग्रुप नेपालले चितवन महोत्सव आउने अवलोकनकर्तालाई लक्षित गर्दै सरसफाई चेतनाका लागि थालेको अभियानमा महोत्सवको अन्तिम दिन बुधबार सम्म १५ सय जनाले हस्ताक्षर गरेका छन् । पुस २५ गतेदेखि सुरु भएको महोत्सवको चौथो दिनसम्म १५ सयले हस्ताक्षर गरेका हुन् । स्टलमा आइपुगेका अवलोकनकर्तालाई ग्रुपका स्वयंसेवीले सरसफाई चेतनासँगै आकर्षणका लागि निशुल्क खेल खेलाएका थिए ।
खेलमा गोला छान्न लगाई त्यसमा लेखे अनुसार सरसफाई सामग्री समेत नि:शुल्क उपलब्ध गराइएको ग्रुपका संयोजक भोजनारायण कंडेलले बताए ।
“बोलेर मात्र भन्दा सरसफाई उपयोगी सामग्री दिए परिवर्तन आउनेछ की भन्ने आशा सहित हामीले सरसफाई प्रोत्साहन स्वरुप हस्टबिन र डस्टप्यान वितरण गरेका हौँ ,” कँडेलले भने । वे ग्रुपको स्टलबाट उपहार स्वरुप ५ सय जनाले डस्टप्यान र १ सय १८ जनाले डस्टबिन लगे । यस्तै ५० जनाले प्लाष्टिक जन्य सामग्रीबाट पुर्नप्रयोग गरी बनाइएका लकेट तथा अन्य सामग्री उपहार लगेका छन् ।
‘हप्ताको एकदिन एकछिन समाजका लागि’ भन्ने नारासहित सामाजिक सेवा गर्ने उद्धेश्यले २०७३ साल जेठ २४ गते सुरुआत गरेको वे ग्रुप नेपालले
यस अघिका चितवन महोत्सवमा सरसफाई चेतनाका लागि स्टल राख्दै आएको थियो । अभियानका कार्यक्रम चलाउन मेला महोत्सव प्रभावकारी भएको कंडेलको अनुभव छ । “अन्य समयमा हामीले यही कार्यक्रम गर्न मान्छे एककिृत गर्न नै समय लाग्थ्यो ,”कंडेलले भने ,“महोत्सवमा मानिसको आवतजावत हुने भएकाले अभियानलाई मासमा पुर्याउन सहज हुन्छ । ”
वे ग्रुप नेपालले चितवन महोत्सव परिसरमा विभिन्न स्थानमा कुहिने र नकुहिने फोहोर संकलनका लागि ३० वटा डस्टबिन राखेको थियो । महोत्सव समापन भएसँगै ती डस्टबिन बजारका मुख्य भिड हुने क्षेत्रमा राखिने बताएको छ ।
वे ग्रुपले म फोहोर गर्दिन हस्ताक्षर अभियानसँगै चितवन सेवा समाज र वेटर चितवनको सहकार्यमा प्लाष्टिक जन्य सामग्रीको पुन प्रयोग गरी विभिन्न हस्तकलाका सामग्री बनाउने तालिम दिने गरी स्टल राखेको थियो । स्टलमा पुन प्रयोग गर्न मिल्ने सामग्रीबाट बनाउन सकिने हस्तकलाका सामाग्रीका लागि ३० जनाले नाम टिपाएका छन् । चाउचाउको खोल, दुधको प्याकेट, प्लाष्टिक झोला, रस्सीहरुबाट बनाउन मिल्ने रिकापी, कि रिङ, ह्याण्डब्याग बनाउन तालिम दिने गरी स्टल राखिएपनि महोत्सव समापन भएकाले छिट्टै कुनै कार्यक्रम मार्फत तालिम उपलब्ध गराउने सोच रहेको बेटर चितवनका सागर कार्कीले बताए ।
तालिम लिनका लागि नारायणगढकी शान्ता अधिकारीले पनि नाम टिपाएकी छिन् । उनले आफ्ना विद्यार्थीलाई सहभागी गराउने गरी तालिम ल्याउन आग्रह गरिन् । मेला महोत्सवहरु सीप सिक्ने सिकाउने थलो भएको शान्तीले बताइन् ।
यस बीच कोरोना महामारी फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै बुधबार चौथो दिनमा १३ औं चितवन महोत्सवको समापन गरिएको छ । १३ औं संस्करणको चितवन महोत्सव बुधबार समापन गरिएको हो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले अर्को वर्ष १४ औं संस्करणको चितवन महोत्सव गर्ने घोषणा गर्दै चौथो दिनमा महोत्सव समापन गरेका हुन् ।“ कोरोना महामारीको जोखिमका कारण हामी चौथो दिनमा महोत्सव समापन गर्दै छौं,” अध्यक्ष श्रेष्ठले भने ,“अर्को वर्ष हामी १४ औं संस्करणको महोत्सव गर्नेछौं त्यसको घोषणा आजै गर्छु ।”
चार दिनमै महोत्सव स्थगन गर्नुपरेपछि महोत्सव मुल आयोजक कमिटिले चितवन महोत्सवमा स्टल राखेका व्यवसायीहरुलाई ५० प्रतिशत रकम फिर्ता गर्ने निर्णय गरेको छ । कोरोना महामारीको संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले मेला महोत्सव रोक्न निर्देशन गरेसँगै महोत्सवको समयावधी अगावै समापन गरिएको हो ।




