राप्ती, २८ पुस ।
पूर्वी चितवनको राप्ती नगरपालिका-६ स्थित जनमुखी बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । संस्थाले बुधबार २१ औँ साधारणसभा तथा आठौं अधिवेशन सम्पन्न गरेको हो ।
साधारणसभाको अवसरमा अत्याधिक दूध बिक्री गर्ने कृषकहरुलाई सम्मान गरिएको छ । २१,२०५ लिटर दूध बिक्री गरि दनाई गाई पालन व्यवसायिक फर्मका निलकान्त दनाई प्रथम भए । १६,४८० लिटर दूध बिक्री गरि एकराज सिलवाल द्वितीय र १४,२२५ लिटर दूध बिक्री गरि मुक्ति सिलवाल तृतीय भए । त्यस्तै कृषक गंगा चौधरी र सोभनी घर्ती सान्त्वना पुरस्कारबाट पुरस्कृत भए ।
संस्थागत र सामुदायिक विद्यालयबाट एसईईमा उच्च अंक ल्याउने शेयर सदस्यका छोराछोरी पनि पुरस्कृत भएका छन् । संस्थागत विद्यालयतर्फ शीतल सिलवाल र सामुदायिक विद्यालयतर्फ मञ्जरी भारती पुरस्कृत भएकी हुन् ।
संस्थाको हितको लागि निरन्तर खट्ने तथा सबैभन्दा बढी बचत गर्ने, समयमा नै ऋण तिर्ने, पशुपालनमा लगनशीलता देखाउने शेयर सदस्यहरुलाई पनि संस्थाले सम्मान गरेको छ । उमेर हदका कारण अवकाश पाएका ढुवानी कर्मचारी हरिनारायण खोजवारलाई सम्मान र विदाई गरिएको छ ।
कार्यक्रममै राप्ती नगरपालिकाबाट प्राप्त भएको अनुदान रकम वितरण गरिएको छ । ६ जना कृषकले नगद अनुदान प्राप्त गरेका छन् ।
कार्यक्रममा ०७७/०७८ को वार्षिक प्रतिवेदन र ०७८/०७९ को भावी योजना संस्थाका अध्यक्ष पूर्ण थापाले प्रस्तुत गरेका थिए भने संस्थाका व्यवस्थापकले ०७७/०७८ को लेखा परिक्षण प्रतिवेदन र आगामी वर्षको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
पूर्व प्रदेशमन्त्री दावा लामाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा राप्ती नगर प्रमुख प्रभा बराल, उप प्रमुख इमानसिंह लामा, जिल्ला सहकारी संघ चितवनका अध्यक्ष हरि पौडेल र केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य बालकृष्ण उप्रेती रहेका थिए ।
कार्यपालिका सदस्य पुस्पा कुँवर, राप्ती नगर पशुपन्छी विकास शाखा प्रमुख शैलेन्द्र भण्डारी, राप्ती नगर भित्रका विभिन्न दुग्ध उत्पादक सहकारीका अध्यक्ष, सामुदायिक वनका अध्यक्ष, बचत तथा ऋण सहकारीका अध्यक्ष, राजनैतिक दलका प्रतिनिधि तथा समाजसेवीहरु अतिथिका रुपमा उपस्थित भएका थिए ।
त्यस्तै आजकै भेलाले कार्यसमिति पनि चयन गरेको छ । कार्यसमिति अध्यक्षमा पुन: पूर्ण थापा सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा हरिनारायण चाैधरी, काेषाध्यक्षमा तुलसी खड्का सुवेदी, सदस्यहरुमा कृष्णहरि पाठक, मुक्तिनाथ सिलवाल, ओमनाथ पाण्डे, जमुना सेढाई, सजना पन्त सिलवाल, जमुनी चाैधरी चयन भएका छन् । त्यस्तै लेखा समिति संयाेजकमा हरिकान्त चाैधरी र सदस्यहरुमा दयाराम चाैधरी र संगीता पाण्डे चयन भएका छन् ।




