भरतपुर, ७ पुस ।
लिटल फ्लावर स्कुल, नारायणगढले हरेक वर्ष आयोजना गर्दै आएको ‘इन्टर स्कुल डान्स फेष्ट’ (अन्तर स्कुल नृत्य प्रतियोगिता) मा न्यू होराइजन स्कुल क्षेत्रपुरले प्रथम स्थान हासिल गरेको छ । बुधबार भएको प्रतियोगितामा सनराइज स्कुल भरतपुरले दोस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगितमा प्रथम स्थान ओगट्न सफल भएको होराइजन स्कुललाई ३० हजार रुपैयांँ नगद ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ भने द्धितीय स्थान हासिल गर्न सफल सनराइज स्कुलले २० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । 
यस्तै लिटल फ्लावर स्कुलको चौधौँ संस्करण अन्तर्गत भएको नृत्य प्रतियोगितामा तृतीय स्थानमा आदिकवि भानुभक्त मावि नारायणगढले प्राप्त गरेको छ । बेष्ट कोरियोग्राफरको स्थान अर्किड स्कुल भरतपुरले हासिल गरेको छ । आदिकवि भानुभक्तले १५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने अर्किड स्कुलले ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा चितवन र नवलपुरका गरी २५ वटा स्कुल सहभागी थिए । 
सो अवसरमा स्वागत मन्तव्य दिँदै लिटर फ्लावर स्कुलका प्रिन्सिपल फादर रोवी कुले अन्तरस्कुल बीच हुने यस्ता प्रतियोगिताले भाइचाराको सम्बन्ध स्थापना हुने बताए । विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले हरेक वर्ष नृत्यलगायत अन्य कार्यक्रम गर्दै आएको पनि उनले बताए । ‘यस्ता कार्यक्रमले स्कुलबीचको एकता र हारमोनी पनि कायम रहन्छ´, फादर रोवीले भने, `विद्यार्थीको नेतृत्व र व्यक्तित्वको पनि विकास हुन्छ ।’ अध्ययनका साथै अतिरिक्त क्रियाकलाप विद्यार्थीको लागि अपरिहार्य रहेको भन्दै रोवीले यस्ता कार्यक्रमलाई स्कुलले निरन्तरता दिँदै आएको बताए । ‘हामीले नृत्यलगायत अन्तरस्कुल खेलकुद ,हाजिरीजवाफलगायत विज्ञान प्रविधि प्रर्दशनी तथा प्रतियोगिता आयोजना गर्दै आएका छौं, उनले भने, `यस्ता कार्यक्रमहरु स्कुलले प्राथमिकताका साथ गर्दै पनि आएको छ ।’ 
नृत्य प्रतियोगिता कार्यक्रमको प्रमुख अतिथि चलचित्र क्षेत्रकी अभिनेतृ रेखा थापा थिइन् । उनले नृत्य प्रतियोगिता विद्यार्थीहरुको लागि सिर्जना र प्रतिभा देखाउने मौका भएको बताईन । विद्यार्थीले आफ्नो प्रतिभालाई तिखार्दै लैजानुपर्ने भन्दै उनले यसले नेपाली कला, संस्कृतिको जगेर्ना गर्न समेत मद्दत पुग्ने बताईन् ।
कार्यक्रममा तीनजना समूहको निर्णायक मण्डलले प्रतियोगी छनौट गरेका थिए । नृत्य प्रतियोगितामा नेपाली संस्कृति, राष्ट्रभक्ति तथा विभिन्न जातजातीको संस्कृति झल्काउने नृत्य प्रस्तुत गरिएको थियो ।





