राप्ती, ७ पुस ।
पूर्वी चितवनको राप्ती नगरपालिकाले १० औँ नगरसभा सम्पन्न गरेको छ । सभाले चारवटा कार्यविधिसहित सातवटा प्रस्ताव पारित गरेको छ ।
नगरसभाले बालुवा प्रशोधन उद्योग तथा नदीजन्य सामग्री व्यवस्थापन कार्यविधि, पशुपंक्षी तथा मत्स्यसम्बन्धी नगरबाट सञ्चालित कार्यक्रम कार्यान्वयन कार्यविधि, कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि र पशु स्वास्थ्य शिविर सञ्चालन कार्यविधि पारित गरेको हो ।
साथै सभाले नगरसभाको नीति, कार्यक्रम तथा बजेटको समीक्षा, इसिडी शिक्षक र कर्मचारीहरुका लागि तलबभत्ता रकमान्तर, समपूरक कोषको व्यवस्था, झोलुङ्गे पुलको निर्माण, जिल्ला समन्वय समितिबाट सञ्चालित योजना, योजना संशोधनको अनुमोदन र संशोधन, एकीकृत बस्तीको स्थान छनोटलाई अनुमोदन, ऐन नियम कानुन तथा कार्यविधि र सेवा करारका कर्मचारीहरुको सेवा निरन्तरता सम्बन्धी प्रस्ताव पारित गरेको गरेको हो ।
राप्तीको १३ वटै वडाहरुमा सम्भाव्यताको आधारमा गाई, भैँसी, राँगा, बाख्रा, भेडा, कुखुरा, बंगुर, हाँस, माछा, बट्टाईलगायत क्षेत्रको विकास र विस्तार कार्यक्रम व्यवस्थित, सरल र सहज बनाउन पशुपंक्षी तथा मत्स्यसम्बन्धी नगरबाट सञ्चालित कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ लागू गरिएको उल्लेख गरिएको छ ।
नगरसभाले पारित गरेको कसुर तथा जरिवाना सम्बन्धि व्यवस्थामा निषेधित क्षेत्रबाट नदीजन्य सामग्री उत्खनन तथा संकलन गरेमा दण्डनीय हुने भनी उल्लेख गरिएको छ । त्यस्तै अनुमति बिना हेभी मेसिनरी सामग्री नदी तथा खोला भित्र प्रवेश गराएमा कसुर गरेको मानिने पनि बताइएको छ ।
सभामा बोल्दै नगर उपप्रमुख ईमानसिंह लामाले बितेको कार्यकालमा धेरै सम्झनयोग्य कामहरु भएको बताए । विभिन्न वडामा स्वास्थ्य संस्थादेखि निर्माणाधिन नगर भवनलाई उपलब्धिको रुपमा लिएको बताए । प्राथमिकताको आधारमा दिगो विकास गर्नु सबल पक्ष भएको पनि लामाले बताए ।
त्यस्तै नगरप्रमुख प्रभा बरालले भौगोलिक आधारमा पछि परेको पहाडी वडाहरुमा विकासलाई बढी जोड दिएको बताइन् । स्रोत र साधनलाई उचित व्यवस्थापन गर्दै अगि बढेको उनले बताइन् । संरचना र विकासको हिसाबले आफूहरुले सक्दो काम गरेको पनि उनले दाबी गरिन् ।





