राप्ती, ७ पुस ।
पूर्वी चितवनको राप्ती नगरपालिका ६ स्याउली टोलका अति विपन्न परिवारहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बुधबार एक कार्यक्रमका बिच उक्त टोलका ६ घर परिवारलाई न्यानो कपडास्वरुप ओढ्ने ब्ल्याङ्केट वितरण गरिएको हो।
अमेरिका निवासी केदार खरेलको आर्थिक सहयोगमा विपन्न घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रमको संयोजन लालीगुराँस टोल विकास संस्थाले गरेको थियो ।
जाडोयाममा विपन्न परिवारलाई ओढ्ने कपडाको अभाव हुँदा न्यानो कपडा वितरण गरिएको लालीगुराँस टोल विकास संस्थाका अध्यक्ष पण्डित महतोले बताए । `जाडो बढ्दो छ, टोलमा धेरै नै विपन्न परिवार बस्नुहुन्छ, उहाँहरुलाई ओढ्ने कपडाकमी थियो´ पण्डितले भने- `सबैभन्दा ठूलो कुरा मन हो । यो ठाउँबाट विदेशमा धेरैजना रहनुभएको छ । उहाँहरुले पनि यस कार्यक्रमबाट केही सिक्न जरुरी छ र सहयोग गर्नुहुनेछ भन्ने आश गरेको छु ।´ कार्यक्रममार्फत पण्डितले सहयोगी खरेललाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि रहेका वडाध्यक्ष जल्लु महतोले आर्थिक सहयोगले स्थानीयमा राम्रो सन्देश गएको बताए । वडाले पनि विकासका विभिन्न परियोजनाहरु ल्याएको उनले बताए । गरिब तथा विपन्न परिवारको लागि स्वास्थ्य बिमाका कार्यक्रमहरु ल्याएको पनि उनले बताए ।
कार्यक्रममा राप्ती नगरपालिका ६ का वडा अध्यक्ष जल्लु महतोको प्रमुख आतिथ्यता रहेको थियो भने विभिन्न स्थानीय, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
खरेलले केही महिना अघि मात्र ज्येष्ठ नागरिकको सम्मान लागि टोल विकास संस्थालाई आर्थिक सहयोग गरेका थिए ।
टोल विकास संस्थाका अध्यक्ष महतोको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन चन्द्रकान्त चौधरीले गरेका थिए भने स्वागत मन्तव्य राधा चौधरीले राखेकी थिइन् ।





