राप्ती, ७ पुस ।
पूर्वी चितवनको राप्ती नगरपालिका २ मा रहेको श्री पशुपतिनाथ मन्दिरको ९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको राप्ती २ का वडाध्यक्ष श्यामसुन्दर उप्रेतीले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेका हुन् ।
कार्यक्रममा धार्मिक संस्कार विकास तथा आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष उप्रेतीले मन्दिरको अक्षयकोषमा २ लाख २४ हजार नगद दान गरेका समाजसेवी शेरबहादुर रिजाललगायत अन्य सहयोगीहरुलाई सम्मान गरेका थिए ।
साधारणसभाले नयाँ कार्यसमितिको पनि चयन गरेको छ । मन्दिरको अध्यक्षमा मुक्तबहादुर रिजाल सर्वसम्मत चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा शेषकान्त सिलवाल, सचिवमा नवराज डल्लाकोटी, कोषाध्यक्षमा जगतबहादुर उप्रेती र लेखा सुपरिवेक्षक समितिको संयोजकमा विश्वराम सेढाईलाई सर्वसम्मत चयन गरिएको छ ।





