भरतपुर, ७ पुस ।
प्रतिनिधिसभाको बैठक आज बस्दै छ । हिजो मंगलबार केही समय बसेर स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यसैगरी आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन), ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ तथा ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ ।
साथै आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८ समेत स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ।
मंगलबारको बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए । 





