भरतपुर, २१ मंसिर ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले `नेपाल लाइफ समुन्नत जीवन´ नामक जीवन बीमा योजना सार्वजनिक गरेको छ ।
कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँनयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा यो बीमा योजना प्रस्तुत गरेको जनाएको छ ।
यस बीमा योजनाको मुख्य आकर्षण भनेको बीमा अवधिभित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमांक रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानी प्राप्त गर्न सक्नु हो ।
यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले लिन सक्नेछन् । ५ वर्षदेखि अधिकतम ३० वर्षसम्म अवधिको बीमा लिन सकिने छ भने १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ । अतिरिक्त बीमा शुल्क तिरेर बीमांक रकम बराबर वा अधिकतम पचास लाखसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिनेछ । यो बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ । पचास हजार रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको बीमांक रकमको बीमा गर्न सकिनेछ ।





