गैंडाकोटमा स्वास्थ्य चौकी भवन उद्घाटन

गैंडाकोट, २१ मंसिर ।
गैंडाकोटमा निर्मित गैंडाकोट स्वास्थ्य चौकी भवनको उद्घाटन भएको छ । गैंडाकोट-५ स्थित स्वास्थ्य चौकी प्राङ्गणमा आयोजित एक समारोहका बीच गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले मंगलबार भवनको उद्घाटन गरे ।

उद्घाटनपछि बोल्दै नगरप्रमुख पौडेलले मुलुक संघीय संरचनामा गैसकेपछि सरकार जनताको घरदैलोमा भएको अनुभव गराउन सवै जनप्रतिनिधिहरुको अथक मेहनतका कारण र स्थानीय पूर्वजहरूको योगदानका कारण यो स्वास्थ्य चौकी समय अगावै तयार भएको बताए । सर्पले टोकेका र चोटपटक लाग्दा भरतपुर जान नपर्ने गरी २-३ महिना भित्रै सर्पदंशसहितको सेवा पूरा गर्ने योजना रहेको पौडेलले बताए ।
आगामी २ महिनाभित्र एम्बुलेस सहित वर्थिक सेन्टर स्थापना गर्ने योजना रहेको पनि उनले बताए ।

स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर ५ का अध्यक्ष नवराज कँडेलले आफैंले सिलान्यास गरेको स्वस्थ्यचौकीको आफैले उद्घाटन गर्न पाउँदा अत्यन्तै खुसी लागेको चर्चा गर्दै समय अगावै योजना सम्पन्न गर्ने सवैप्रति आभार व्यक्त गरे । ‘कोरोना कालको भयभीत अवस्थामा चितवनका अस्पतालहरूले वाहिरी जिल्लाका बिरामीहरुलाई भर्ना नलिने सुन्दा हामी झस्किएका थियौँ’ अध्यक्ष कँडेलले भने– ‘तर अब त हामीले यहाँ अस्पताल बनाएका छौं, जहाँ २०/ २५ जनाको एकैपटक उपचार गर्न सम्भव भएको छ ।´
यो अस्पताल बन्नुमा म एक्लैको प्रयास भन्दापनि सामुहिक प्रयासले बनेको भन्दै यसैगरी सबै क्षेत्रहरुबाट निरन्तर सहयोग भएमा आउँदा दिनहरुमा यो स्वास्थ्यचौकीलाई अझ राम्रो बनाउन सकिने अध्यक्ष कँडेलको भनाई थियो ।

उद्घाटन समारोहमा नगर उपप्रमुख बिष्णु कुमारी कँडेल सापकोटाले भवन छोटो समयमा र राम्रोसँग तयार भएकोमा ठेकेदार कम्पनीलाई धन्यवाद दिँदै दूरदर्शी व्यक्तित्व स्व. सूर्यभक्त अधिकारीले गैंडाकोट नगरपालिकामा संरचना बनाउन मिल्नेगरी जग्गाको व्यवस्था गरिदिनु भएकोले यहाँ अहिले यो स्वास्थ्य चौकी सम्भव भएको बताइन् । उपप्रमुख कँडेलले गैंडाकोटका मानिसहरुले पुल तरेर वाग्मती प्रदेश जानुपर्ने अवस्था भएको बताउँदै आगामी दिनहरूमा नगरपालिकाको पहलमा राम्रा डाक्टरहरूको व्यवस्था गरि उपचारकै लागि पुल तरेर पारी जानुपर्ने दिनको अन्त्य गरिने आश्वासन दिइन् । यसैगरि गैंडाकोट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र कर्मचारीहरुले अत्यन्तै राम्रो सेवा प्रवाह गरेकोमा आफूहरु दुक्क भएको उपप्रमुख कडेलको भनाई थियो ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जिल्लामा १ लाख ८० हजार जनालाई खोप लगाइसकिएको जानकारी दिँदै गैंडाकोट नगरपालिकाले स्वास्थ्य सेवाको जुनसुकै काम पनि चुस्त र दुरुस्त गरेकोमा नगरपालिकाप्रति आभार प्रकट गरे । चापागाईले नगरपालिका र नगरप्रमुखलगायतका पदाधिकारीहरुको लगातारको सक्रियताका कारण यो काम सम्भव भएको बताउँदै स्वास्थ्य क्षेत्रमा गैंडाकोट नगरपालिका प्रथम स्थानमा रहेको जानकारी दिए ।

उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने अन्य अतिथिहरुमा रेडियो संकेतका स्टेशन मेनेजर सुजन अधिकारी, वडा नम्बर ५ का पूर्वअध्यक्ष ज्ञानेन्द्रप्रसाद सापकोटा, वडा नम्बर २ का वडाध्यक्ष ध्रुवराम पौडेल, पूर्वगाविससचिव पदमप्रसाद घिमिरे र नेपाल रेडक्रस सोसाइटी नवलपुरका अध्यक्ष मदनभक्त अधिकारीलगायत थिए ।

२ करोड ५० लाख रुपैयाँ लगानीमा निर्मित गैंडाकोट स्वास्थ्यचौकीमा ७ जना स्वास्थ्यकर्मी एवं कर्मचारीहरु कार्यरत छन् । भवन निर्माणको ठेक्का नागार्जुन जेजेजेबी कन्स्ट्रक्सनले लिएको थियो । कन्स्ट्रक्सनले निर्माण सम्पन्न गर्ने समय भन्दा ८ महिना अगाडि नै स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

सो अवसरमा सामुदायिक सेवामा पूर्ण सेवा गरेका र समय अगावै भवन निमाण गरेर स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेकोमा निर्माण कम्पनी र इन्जिनियरलगायतलाई प्रसंसापत्र सहित सम्मान गरिएको थियो ।
गैंडाकोट स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य चूडामणी शर्मा कँडेलको स्वागत मन्तव्य रहेको समारोहको संचालन स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष बिष्णुप्रसाद सापकोटाले गरेका थिए । समारोह स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ५ का अध्यक्ष नवराज कँडेलको अध्यक्षतामा भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट