बौद्धिक अपांगता भएका परिवारलाई व्यक्तिगत सहयोगीको व्यवस्था गर्न माग

भरतपुर, २० मंसिर ।
बौद्धिक अपांगता अभिभावक महासंघ नेपालले बौद्धिक अपांगता भएका परिवारलाई व्यक्तिगत सहयोगीको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासंघका केन्द्रीय अध्यक्ष राजु बस्नेतले हेरचाह गर्ने सहयोगीको व्यवस्था भए परिवार आयआर्जनका गतिविधिमा लाग्न सहज हुने बताए ।

‘अपांगता भएकाहरुलाई निरन्तर रेखदेख गर्नुपर्छ’, उनले भने, ‘अधिकांश अभिभावक रोजगारी, व्यवसाय नै छाडेर हेरचाहमा खटिएका छन्, परिवारको आत्मनिर्भरता बढाउन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छ ।’ बौद्धिक अपांगता भएका व्यक्ति तथा उनीहरुको परिवारलाई रोजगारी सृजना गर्नुपर्नेमा उनले जोड दिए ।

केन्द्रीय महासचिव रामनारायण श्रेष्ठले हेरचाह गर्ने दिवा हेरचाह केन्द्रहरु सरकारले स्थापना गर्नुपर्ने बताए । ‘शहरका केही परिवारले डे केयरमा राखेका छन्, तर गाउँतिर अधिकांश घरभित्रै छन्’, उनले भने, ‘हेरचाह केन्द्र बनेमा परिवारलाई राहत पुग्नेछ, कम्तीमा हरेक स्थानीय तहमा एउटा दिवा हेरचाह केन्द्र सरकाले सञ्चालन गर्नुपर्छ ।’ महासंघ मातहतका २१ वटा संस्थाले हेरचाह केन्द्र सञ्चालनमा ल्याए पनि सबैको पहुँच पुग्न नसकेको उनले जानकारी गराए ।

२०६८ को जनगणना अनुसार १४ हजार ८ सय ८८ जना बौद्धिक अपांगता भएका व्यक्ति रहेका छन् । तर यो तथ्यांकभन्दा धेरै बौद्धिक अपांगता भएका व्यक्तिहरु भए पनि सबैको गणना हुन नसकेको महासंघको दाबी छ ।

महासंघमा ३७ जिल्लाका ४० संस्थाहरु रहेका छन् भने ९ जिल्लामा सम्पर्क सञ्जाल विस्तार भएको छ । केन्द्रीय सदस्य सप्तरी राजविराजका जगदीशप्रसाद अर्यालले बौद्धिक अपांगता भएका परिवार तथा व्यक्तिलाई राज्यले सधैँ उपेक्षा गरेको बताए ।
‘बौद्धिक अपांगता भएका व्यक्तिका अभिभावक पनि मन्त्री बने, नीति नियमहरु बने, तर कार्यान्वयनमा आएन’, उनले भने, ‘अन्य अपांगताभन्दा बौद्धिक अपांगता भएका व्यक्ति बढी समस्या छन् । तर राज्यले उल्लेख्य कामै गरेन ।’ उनले बौद्धिक अपांगता भएका महिलामाथि हिंसा बढ्दो अवस्थामा रहेकाले अपराध विरुद्धको सचेतना बढाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याइनुपर्नेमा जोड दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट