नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जबाट आइतबारदेखि बाघ गणना सुरु गरिएको छ । जुलाई २९ विश्व बाघ दिवसका अवसरमा तथ्याङ्क सार्वजनिक गरिने योजनाका साथ सुरु गरिएको बाघ गणना कार्य दुई महिनासम्म चल्नेछ । निकुञ्जमा आउने पर्यटकलाई लोभ्याउने सबैभन्दा महत्वपूर्ण वन्यजन्तु बाघ नै हो । पर्यटकहरु बाघलाई एक नजर हेर्न लालायित हुने गर्छन् । त्यसपछि गैँडा र अन्य वन्यजन्तुको पालो आउँछ ।
इकोसिस्टममा महत्वपूर्ण भूमिका रहने मांसाहारी जीव बाघ जति महत्वपूर्ण छ, यसको संरक्षण त्यति नै चुनौतीपूर्ण बन्दै गइरहेको छ । यसले संरक्षणको क्षेत्रमा लागेकाहरुलाई बाघको संख्या बढाउन दबाव दिइरहेको छ ।
सन् २०१० मा रसियाको सेन्ट पिटर्सवग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पुर्याउने प्रतिवद्धता व्यक्त गरेको थियो । तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१ बाघ रहेको तथ्याङ्क थियो । सन् २००९ देखि राष्ट्रिय रुपमा नै बाघको सर्वेक्षण सुरुवात गरिएको थियो । नेपालमा सन् १९९५/९६ मा ९३ देखि ९७ वटासम्म वयस्क बाघ रहेको अनुमान गरिएको थियो । सन् २००९ मा १२१, सन् २०१३ मा १९८ र सन् २०१८ को सर्वेक्षण अनुसार २३५ वटा वयस्क बाघ रहेको अनुमान गरिएको थियो । सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए । त्यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । यो सङ्ख्या बढेको अनुमान गरिएको छ ।
बंगाल टाइगरका नामले चिनिने पाटेबाघको संरक्षणमा चोरीशिकार प्रमुख चुनौती बनेको छ । हड्डी तथा छालाका लागि गरिने बाघको चोरीशिकारले बाघलाई जोगाउन कठिनाई उत्पन्न गरेको छ । बाघको बासस्थानमा सङ्कुचन र आहाराको कमि थप चुनौती हुन् बाघ संरक्षणका लागि । बाघको मुख्य बासस्थानमा निर्माण हुने सडक, रेल मार्गलगायत भौतिक पूर्वाधार निर्माण जस्ता कार्यले पनि बाघ संरक्षणमा चुनौती थपिएको छ । संरक्षित क्षेत्र तथा जैविक मार्गमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्ने कार्यविधि तयार भई स्वीकृतिको क्रममा रहेकोले अब भने बाघको बासस्थान बिस्तार र सुधार हुने आशा गर्न सकिन्छ ।
विगत सय वर्षमा बाघको बासस्थान ९० प्रतिशत मासिएको अनुमान गरिएको छ । संरक्षणकर्मी, स्थानीय तह, सामुदायिक वन, संरक्षण क्षेत्र, नागरिक समाजलगायत मिलेर बाघको संंरक्षण गर्नु आवश्यक भइसकेको छ । अहिलेको बाघ गणनाले नेपालमा बाघको संख्या बढ्ने अपेक्षा गरिएको छ ।





