केशवराज आमोदीको टिप्पणी :
वि. सं. १९९० पुस २८ गते चितवनकी मदर टेरेसा महान् समाजसेविका नीरकला शर्माको जन्म दार्जीलिङको ओकाइटीमा भएको हो । परोपकार नै धर्म हो , गरीब-गुरुवाको सेवा नै ईश्वर पूजा हो भन्दै बैसाखीको सहारा नलिई कतै ओहोरदोहोर गर्न नसक्ने शारीरिक रूपले अत्यन्त कमजोर तर मानसिक रूपले अत्यन्त उर्जाशील, परम विदुषी, अध्यात्म दर्शनमा गहिरो ज्ञान राख्ने, हजारौं विद्यार्थीहरुका प्रेरणाकी स्रोत, ममतामयी गुरुआमा र दिदीका रूपमा सम्बोधित र स्थापित समाजसेविका नीरकला शर्मा चितवनकी मदर टेरेका रूपमा सुपरिचित हुनुहुन्छ ।
उहाँले चितवनकै प्रथम मावि तहकी शिक्षिकाका रूपमा रहेर २०२५ सालदेखि २०५० सम्म नेपाल मावि रत्ननगर चितवनमा शिक्षण गर्नुभयो । उहाँका प्रशंसक विद्यार्थीहरु देश-विदेशमा छरिएर रहेका छन् । शिक्षण सेवाबाट सेवा निवृत्त भए पछि आफूजस्तै असहाय, अशक्त, आर्त, बृद्ध र दीनदुखीहरुको सेवा उपकार गर्दै आइरहनु भएको मात्र छैन अपितु असहाय बृद्ध कल्याण समाजको स्थापनार्थ आफ्नो तन, मन, धन र जीवन समर्पण गरेर भवन निर्माणसहित बृद्ध-बृद्धाहरुको लागि खाना, नाना र छानाको व्यस्थित रूपमा सञ्चालन गर्दै आउनु भएको छ ।
यति गर्दा पनि चित्त नबुझी अर्को गायत्री शर्मा मानव सेवा ट्रष्ट (२०७०), रत्ननगर नगरपालिका-१३, माधवपुर चितवनमा स्थापना गरी ट्रष्टको विधान अनुसार सेवा पुर्याउँदै आउनुभएको छ ।
लायन्स क्लब अफ चितवन वाङ्मयद्वारा नारायणी रिसोर्ट गैडाकोटमा आयोजित राष्ट्रिय कविता प्रतियोगिता कार्यक्रममा असहाय बृद्ध कल्याण समाज तथा गायत्री शर्मा अशक्त मानव सेवा ट्रष्ट र न पा १३ चितवनकी संस्थापक अध्यक्ष नीरकला शर्माको कठिन संघर्ष र चुनौतीले भरिएको कहानीलाई समेटेर पठनीय, संग्रहणीय र सबैका लागि प्रेणादायी रहेको जीवन गाथालाई श्रीशेषरमण खनालजीले यथार्थमा आधारित ‘सङ्घर्षका पाइलाहरु’ ( २०७८ ) नामक ग्रन्थ तयार पार्नुभएको छ । कृतिमा कहाली लाग्दो संघर्षका अतिरिक्त गायत्री शर्मा अशक्त मानवसेवा ट्रष्टको जानकारी तथा उद्देश्यसहित सम्पन्न कार्यहरुको विवरण तथा संस्थाका आजीवन सदस्यहरु र सहयोगीहरुको विवरणसमेत दिइएकोले सच्चा मानवधर्मीहरुका सहज र सुलभ भएको छ ।
भोलिकै दिनबाट संस्थाका आजीवन सदस्यहरु र सहयोगी हातहरुलाई आफ्नै बाहुलीबाट वितरण गर्दै हुनुहुन्छ । आगामी पुस २८ गते ८८ वर्ष पूरा गरी ८९ वर्ष प्रवेशका शुभ अवसरमा महान समाजसेविका हामी सबैकी प्रेरणाकी स्रोत नीरकला शर्माको सुख शान्ति सुस्वास्थ्य र पूर्ण शतायुको कामना गर्दछु ।





