भरतपुर, १९ मंसिर
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबारदेखि बाघ गणना (सर्वेक्षण) सुरु गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा एक विशेष कार्यक्रम गर्दै वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले बाघ गणनाको उद्घाटन गरेका हुन् ।
मन्त्री यादवले बाघ गणनाको लागि राखिएको क्यामाराको स्वीच अन गरेर ‘बाघ सर्वेक्षण’ को उद्घाटन गरे । उनले २०२२ सम्ममा बाघको संख्या दोब्बर गर्ने लक्ष्य हासिल हुने विश्वास व्यक्त गरे । नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर (२५०) पुर्याउने लक्ष्य लिएको थियो ।
मन्त्री यादवले बाघ गणनामा खटिने प्राविधिकहरुलाई सुरक्षित तवरले गणनामा खटिन आग्रह गरे । सर्वेक्षण कार्यमा झण्डै २५० जनाको टोली खटिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए । बाघ गणनामा चितवन तथा पर्सा राष्ट्रिय निकुञ्जका प्राविधिक कर्मचारी, डिभिजन वन कार्यालयका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक, वन्यजन्तु विज्ञ, नेपाली सेना, मध्यवर्ती क्षेत्र तथा स्थानीय समुदाय, संरक्षण सहयोगी संस्थाका कर्मचारी परिचालन हुने प्रमुख संरक्षण अधिकृत आर्चायले जानकारी दिए ।
आगामी सन् २०२२ को जुलाई २९ अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा सर्वेक्षणको नतिजा घोषणा गर्ने तयारी रहेको उनले बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेल चितवन पर्सा कम्प्लेक्समा १०६ जना प्राविधिक परिचालित हुने जानकारी दिए । प्राविधिकहरुलाई मंसिर १७ र १८ गते चितवन राष्ट्रिय निकुञ्जको सौराहामा प्रयोगात्मक अभ्यास सहितको तालिम दिइएको थियो । बाँके बर्दिया कम्प्लेक्समा छुट्टै तालिमको आयोजना हुनेछ । तालिमप्राप्त प्राविधिकहरु फिल्डमा परिचालित भइसकेका छन् ।
गणनामा खटिने गणकहरुको सुरक्षा चुनौतीलाई हेरेर बिमा गरिएको उनले जनाए । बाघ सर्वेक्षणमा करिब ३ करोड ७० लाख खर्च लाग्ने अनुमान गरिएको विभागका महानिर्देशक कँडेलले बताए । राष्ट्रिय बाघ सर्वेक्षणको लागि नेपाल सरकारबाट समेत बजेट विनियोजन भएको छ । यसका साथै डब्लुडब्लुएफ र जिएसल नेपाल तथा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट आर्थिक र प्राविधिक सहयोग प्राप्त भएको महानिर्देशक डा. कँडेलले बताए ।
कसरी गरिन्छ बाघ गणना ?
बाघ सर्वेक्षणमा क्यामेरा ट्रयाप, सन्टो कम्पास, रेञ्ज फाईन्डर, जि.पि.एस., रेकर्ड फर्मलगायतका प्रविधिको प्रयोग गरी क्यामरा ट्रयाकिङ विधि र अकुपेन्सी सर्भे विधिबाट बाघको गणना गरिने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
गणनाको क्रममा बाघ ओहोरदोहोर गर्ने क्षेत्र र बाटो पत्ता लगाएर स्वचालित क्यामेरा राखिन्छ । क्यामेरा पार गरेर बाघ गए आफैं फोटो खिचिन्छ । क्यामेरामा कैद भएका बाघको तस्बिर हेरेर उक्त क्षेत्रमा कति बाघ छन् भन्ने सर्वेक्षण गरिने तिवारीले बताए ।
नेपालमा बाघ रहेका राष्ट्रिय वन क्षेत्र, जैविक मार्ग तथा वरपरको वन क्षेत्रलाई विभिन्न कम्प्लेक्समा विभाजन गरी गणना थालिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिष्ट वेदकुमार ढकालले जानकारी दिए । चितवन–पर्सा कम्प्लेक्स, बाँके–बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा–लालझाडी क्षेत्र गरी तीन वटा कम्प्लेक्सहरूमा विभाजन गरिएको सूचना अधिकारी ढकालले बताए ।
बाघ सर्वेक्षण गर्दा चितवन–पर्सा कम्प्लेक्सलाई तीन वटा ब्लकमा, बाँके बर्दिया कम्प्लेक्सलाई चार वटा ब्लकमा र शुक्लाफाँटा–लालझाडी कम्प्लेक्सलाई एउटा ब्लकमा विभाजन गरिएको छ । उनका अनुसार ब्लकहरुलाई २ किमी लम्बाई र २ किमी चौडाई भएका ग्रीडहरुमा विभाजन गरिएको छ ।
चितवन पर्सा, बाँके बर्दिया र शुक्लाफाँटा–लालझाडी कम्प्लेक्समा क्रमशः ८९५, ८१४ र २६० वटा ग्रिडहरु रहेका छन् । चितवन पर्सा कम्प्लेक्सको पहिलो दोस्रो तथा तेस्रो ब्लकमा क्रमशः २८७, ३१० र २९८ वटा ग्रीडहरु रहेका छन् । प्रत्येक ग्रिडभित्र बाघले प्रयोग गर्ने क्षेत्रहरु हेरी एक जोडी स्वचालित क्यामेराहरु जडान गरिने छ । बाघ गणनामा करिब एक हजार क्यामरा प्रयोग हुने ढकालले बताए ।
बाघ सर्वेक्षणको क्रममा चितवन पर्सा कम्प्लेक्समा ७, बाँके बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा क्षेत्रमा ३ वटाका दरले हात्तीहरु प्रयोग हुनेछन् । नेपालमा सन् १९९० को दशकदेखि बाघको सर्वेक्षण हुँदै आएको छ । सन् २००९ देखि राष्ट्रिय रुपमा नै बाघको सर्वेक्षण सुरुवात गरिएको थियो । सन् १९९५/९६ मा ९३ देखि ९७ वटा, सन २००९ मा १२१, सन् २०१३ मा १९८ र सन् २०१८ को सर्वेक्षण अनुसार २३५ वटा बयस्क बाघ रहेको अनुमान गरिएको थियो ।





