भरतपुर, १९ मंसिर ।
दार्जीलिङका सुपरिचित लेखक एवं प्राध्यापक महेन्द्र पी. लामाले लेखेको पुस्तक `ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन´ बजारमा आएको छ।
यो पुस्तक भारतका नेपालीभाषी र उनीहरूले माग गर्दै आएको गोर्खाल्यान्डका मुद्दा लगायत विषयमा केन्द्रित छ । दार्जीलिङले आफ्नो स्वाभिमानका निम्ति सय वर्षदेखि गर्दै आएको सङ्घर्षको झलक यसमा पढ्न पाइने पुस्तकको प्रकाशक किताब पब्लिसर्सले जनाएको छ । सँगैको अर्को राज्य सिक्किमसँग जोडिएका प्रसङ्गहरू पनि पुस्तकमा प्रशस्त आउँछन् ।
४३० पृष्ठ लामो पुस्तक ‘पहाडकी रानी’, ‘हाम्रो आवाज र स्वाभिमान’, ‘नेपाललाई नियाल्दा’, ‘चीनतिर चियाउँदा’, ‘कूटनीति र यताउति’ तथा ‘अनुभूति र अवलोकन’ गरी ६ भिन्न खण्डमा विभाजित छ । यो किताब विभिन्न कालखण्डमा लेखिएका र छापिएका यस्ता ४९ वटा फरक–फरक आलेखको सङ्ग्रह हो ।
‘ओ दार्जीलिङ !’ का लेखक लामा नयाँ दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयको स्कूल अफ इन्टरनेशनल स्टडीजका वरिष्ठ प्राध्यापक एवं विकास अर्थशास्त्री हुन् ।
उनी भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार परिषद् सदस्य, सिक्किम सरकारको प्रमुख आर्थिक सल्लाहकार एवं भारत सरकारका विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय कमिटीहरूमा प्रतिनिधि रहिसकेका छन् । उनले यसअघि करीब दुई दर्जन पुस्तकको लेखन एवं सम्पादन गरिसकेका छन् । चितवनमा सम्पूर्ण किताब नारायणगढले यो पुस्तक बिक्रीवितरण गरिरहेको छ ।





