भरतपुर, १९ मंसिर ।
लायन्स क्लब अफ नारायणगढ बालकुमारीले आफ्नो २०औँ स्थापना दिवस मनाएको छ ।
नारायणगढ जेसिजको सभाहल नारायणगढमा सम्पन्न कार्यक्रममा राप्ती नगरपालिका- २ गड्यौलीका २३ वर्षीय सरोज प्रजाचेपाङलाई “वर्ष नागरिक” बाट सम्मान गरिएको छ ।
को हुन् सरोज ?
भोलेबाबा आधारभूत विद्यालयमा कक्षा ५ सम्मको अध्ययन गरेका प्रजा घरायसी अवस्था अन्यन्तै नाजुक भएका कारण पढाइ छाडेर काम गर्न थालेका थिए । काठमाडौंस्थित गाडी मर्मत गर्ने अटो वर्कशपमा काम गरेका उनले अभावै अभावका विचमा पेट्रोलबाट चल्ने तीन पाङ्ग्रे गाडी बनाएका थिए । त्यस्तै हावाबाट चल्ने एयरबोर्टको निर्माण गर्ने लक्ष्य रहेका उनले प्यारामोटरको सफल परीक्षण गरिसकेका छन् । राजमार्गलाई लक्षित गरी उड्न र गुड्न सक्ने एम्बुलेन्सको निर्माण गर्ने लक्ष्य रहेता पनि एयरबोर्ट र त्यसका लागि इन्जिन किन्न नसकेर उडाउन नसकेको बताएका छन् ।
लायन्स क्लब अफ नारायणगढको सामाजिक यात्रा
लायन्स क्लब अफ नारायणगढ बालकुमारी अलग्गै इतिहास र गौरव बोकेको संस्था हो । यस क्लबले हरेक वर्ष रचनात्मक र समाजलाई अलि पृथकता लाग्ने कार्यक्रमहरू गर्दछ । यस क्लबले अरु क्लबलाई रचनात्मक काम गर्नको लागि प्रेरणा र अनुभव साट्नेसम्म गर्दछ । त्यसै मध्येको एउटा उत्कृष्ट कार्य हो लायन “वर्ष नागरिक” सम्मान । यस क्लब राजनीतिबाट सदैव टाढा रही सामाजिक क्रियाकलापहरु गर्दछ । यस वर्षको `वर्ष नागरिक´को सम्मान प्राप्त “सरोज चेपाङ” नामैले काफी छ । जंगलको छेउछाउमा बसोबास गर्ने, कन्दमुल खाने यो जातिको एउटा विलक्षण प्रतिभा अर्थात दियो जुन झुपडीमा बलिरहेको देखियो त्यस्तो प्रतिभाशाली व्यक्तिलाई “वर्ष नागरिक” को रुपमा यस क्लबले सम्मान गरेको हो । अत्यन्त कमजोर आर्थिक अवस्था भएको व्यक्तिलाई सामाजिक उचाइ दिनको लागि सरोज चेपाङलाई एउटा सामाजिक प्रतिभाको रुपमा पहिचान गराउनका लागि लायन्स क्लब अफ नारायणगढ बालकुमारीको यो प्रयास कोशेढुङ्गा सावित हुने क्लबले विश्वास लिएको छ ।
त्यस्तै गरेर “हामी सेवा गछौं” को उत्कृष्ट मानवीय सेवा भावबाट अभिप्रेरित भई क्लवका विभिन्न कार्यक्रमहरुमा भएको सक्रिय सहभागिता, सहकार्य तथा विशेष योगदानको उच्च मुल्याङ्कन गर्दै “वर्ष लायन” बाट पूर्व अध्यक्ष तथा एरिया चिफ बाल गोपाल चुकेलाई सम्मान गरेको छ ।
कार्यक्रममा क्लब स्थापना गर्ने सदस्यहरुमध्य हालसम्म पनि क्लबमा आबद्ध १३ जना संस्थापक सदस्यहरुलाई समेत विशेष सम्मन गरेको थियो । क्लबका सचिव शेरबहादुर पौडेलले कार्यक्रमको सहजीकरण गरेका थिए । अध्यक्ष ध्रुबप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट ३२५ बि २ का डिष्ट्रिक्ट गभर्नर लायन रामप्रसाद भट्ट प्रमुख अतिथिसहित डिष्ट्रिक्टका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।





