‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नारा तथा Orange the world : End voilence against women now अन्तर्राष्ट्रिय नाराका साथ ३०औं अन्तर्राष्ट्रिय १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानका क्रममा छौं । महिलाहरुले ब्यवधानहरुलाई पन्छाई आफ्ना समुदाय र देशहरुमा आफ्नो अधिकारको दाबी गर्न र आफ्नो क्षमता पुर्ण रुपमा महसुुस गर्न, प्राप्त भएका उपलब्धीहरुमा टेकेर लैंगिक न्याय हासिल गर्न रुपान्तरणका लागि निरन्तर आह्वानसहित एकबद्ध बुलन्द आवाज लिई हामी यो दिवस मनाइरहेका छौँ ।
ल्याटिन अमेरिका एवं क्यारिबियनका अग्रज महिला अधिकारवादीहरुद्वारा हिंसामुक्त जीवन बाँच्न पाउने अधिकार समानता र न्यायका लागि लड्न थालनी गरिएको यो अभियान हाल विश्वभरि फैलिएको छ । विश्वभर नोभेम्बर २५ तारिखलार्ई महिलामाथि हुने हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउनुको सन्दर्भ ल्याटिन अमेरिकाको डोमेनिकन रिपब्लीकन गणतन्त्रका एकै मिरावेल परिवारका तीन दिदीबहिनीलाई तत्कालीन त्रिजिलो तानाशाही सरकारले सन् १९६० नोभेम्बर २५ मा गरेको निर्मम हत्यासंग जोडिएको छ । यस घटनालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको प्रतिरुप मानिन्छ । पेटिया, मिनर्भा र मारिया नाम गरेका यी तीन दिदीबहिनीको हत्यालाई महिला बिरुद्धको हिंसाको रुपमा लिई महिला अधिकारमा विश्वास राख्नेहरुले यिनीहरुको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने परम्पराको सुरुवात गरेका हुन् ।
सन् ११९१ मा Rutger University-Centre for Women’s Global Leadership (CWGL), न्यूयोर्क, अमेरिकाको संयोजकत्वमा विभिन्न २० देशका २३ उत्साहित महिलाहरुको एक समूहले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरुवात गर्दै यस अभियानमा जुट्न सम्पूर्ण विश्वलाई आह्वान गरेका थिए । तत्पश्चात हरेक बर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर महिनाको १० तारिखसम्म १६ दिन यो अभियान विश्वभर मनाउने प्रचलन छ । १६ दिने अभियान अन्तर्गत नोभेम्बर २५ महिला हिंसा विरुद्धको दिवस, नोभेम्बर २९ महिला मानव अधिकार रक्षक दिवस, डिसेम्बर १ विश्व एड्स दिवस, डिसेम्बर ३ विश्व अपाङ्गता दिवस, डिसेम्बर ५ विश्व स्वंयसेवक दिवस, डिसेम्बर ६ महिला सहिदहरुको सम्मान दिवस, डिसेम्बर १० मानव अधिकार दिवस पर्छन् ।
महिला हिसांको विरुद्धमा पुरुषहरुलाई जागरुक गराउन क्यानडाका युवाहरुबाट सेतो रिबन पहिरन अभियानको रुपमा शुरुवात १९९१ मा भएको हो । अंग्रेजी अक्षर V (Violence) को उल्टो बनाउँदा बन्ने आकारमा लगाइने Anti-Violence सेतो रिबन प्रतिकात्मक रुपमा म हिंसा सहन्न, आफू पनि र्गिर्दन र देखेमा प्रतिकार गर्छु भन्ने प्रतिवद्धता हो । हाल विश्वब्यापी रुपमा सेतो रिबन १६ दिने अभियानका दिनहरुमा लगाउने गरिएको छ ।
नेपालमा योजनाबद्ध रुपमा सन् २०१० लाई लैंगिक हिंसा विरुद्धको वर्ष (Year against Gender-Based Violence) घोषणा गरी राष्ट्रिय कार्ययोजनासहित कार्यक्रमहरु गरिएको थियो । महिला अधिकार र समानताको लागि यो अभियान ऐतिहासिक र गौरवपूर्ण रहेको छ । नेपाली समाजमा गहिरो रुपमा रहेको पितृसत्तात्मक सोच, व्यवहार, विभेदपूर्ण आर्थिक, सामाजिक संरचना र मान्यता रहेको छ, जसले महिलामाथिको हिंसालाई लामो समयदेखि निरन्तरता दिइराखेको छ । त्यसलाई तोड्ने र समृद्ध एवम् मर्यादित मानव समाजको निर्माण गर्न पनि यो अन्तर्राष्ट्रिय दिवसले सहयोग पु¥याउने अपेक्षा गर्न सकिन्छ । आज मानव विकास क्रमले २१औं शताब्दीमा प्रवेश गरिसकेको छ । एक रथका दुई पाङ्ग्रा, एक सिक्काका दुई पाटा लगायत अनेकौँ भनाइबाट सम्बोधन गरिने समाज विकास निरन्तरताका यी दुई वर्ग महिला र पुरुषमध्ये जुन कुनै वर्गमाथि हुने हिंसा, अमानवीय र अमर्यादित ब्यवहारले समृृद्ध मर्यादित मानव समाज निर्माणमा चुनौती दिएको छ ।
लैंगिक हिंसा भन्नाले महिला वा पुरुष भएको कारण अर्थात् लिंगको आधारमा गरिने हिंसा भन्ने बुझिन्छ । जुन घरेलु, शारीरिक, मानसिक रुपमा हुने गर्दछ । सम्मानित जीवन बाँच्न पाउनु हरेक मानवको आधारभूत मानवअधिकार हो । त्यसैले मानवअधिकार हनन् गर्ने जुुनसुकै व्यवहार वा क्रियाकलाप हिंसा हो । हाम्रो देशको सन्दर्भमा हिंसाको घटनालाई विश्लेषण गर्दा महिला तथा बालिकामाथि हुने हिंसालाई सामान्य रुपमा लिने प्रचलन भएकाले यो समस्या ब्यापकरुपमा फैलिएर रहेको छ ।
हिंसाका कारण महिला र बालिकाहरुले विभिन्न प्रकारका पीडा र दुब्र्यवहारको अनुभूति गरिरहेका छन् । जस्तैः पिट्नु, चिमोट्नु, जिस्काउनु, भय, गालीगलौज, बेवास्ता, साईबर क्राईम, हत्या, बलात्कार एवम् वैवाहिक बलात्कार, जबरजस्ती करणीबाट गर्भधारण, मानसिक दबाब दिनु, लाज वा हिनताबोध गराउनु, एकल महिलामाथि गरिने गलत ब्यवहार, छोरी पाएको निहुँमा गरिने दुव्र्यवहार, आधारभूत आवश्यकतामा रोक लगाउनु, महिला र बालिकाहरुलाई असर हुने परम्परागत प्रचलनहरु, झुमा, देउकी, छाउपडी एवम् कथित बोक्सी प्रथा, शैक्षिक तथा कार्यस्थलमा गरिने यौन दुब्र्यवहार, बेचबिखन र त्यसपछि गरिने देहब्यापार, महिलाहरुको असुरक्षित वैदेशिक रोजगारी, स्वास्थ्य सुविधाको पहँुचमा नियन्त्रण आदि नेपालमा भइरहेका महिला हिंसाका रुपहरु हुन् । गर्भमा छोरा भए जन्माउने, छोरी भए गर्भपतन गराउने कामबाट नै लैंगिक हिंसाको सुरुआत हुने र त्यसैगरी खानपान, औषधि उपचार र शिक्षादीक्षामा समेत विभेदात्मक कार्यहरु घरपरिवार भित्रैबाट गरिन्छ ।
विश्व विकास प्रतिबेदन लगायत हालै गरिएका अन्य कैयौँ अध्ययनहरुमा देखिए अनुसार लैंगिक असमानतालाई कम गर्नाले देशको कुल ग्राहस्थ्य उत्पादनमा सकारात्मक प्रभाब पर्ने गर्दछ । यसले समग्र गरिबी निवारणको लागि उल्लेखनीय ढंगले योगदान पु¥याउन सक्दछ । महिला र बालिकाहरु विरुद्धको हिंसा, बेतलबी स्याहारसंभार सम्बन्धी कार्यमा महिलाको असमान अनुपात, सम्पति र उत्पादनमुलक श्रोतहरुमा महिलाको समान पहुँच, ज्यालामा लैंगिक अन्तर, महिलाको यौन र प्रजनन स्वास्थ्य र अधिकार तथा निर्णय गर्ने, सबै ठाउँ र स्तरमा महिलाको समान अर्थपूर्ण सहभागिता, घरभित्रको कामको महत्व जस्ता लैंगिक समानता सम्बन्धी कैयौँ गम्भीर मुद्दाहरु सहश्राब्दी विकास लक्ष्यमा समाबेश गरिएका थिएनन् ।
विश्व ब्यापकता, समानता र अबिभेद, सहभागिता र समाबेशिता, जबाफदेहिता जस्ता मानवअधिकारका सिद्धान्तहरु सन् २०१५ पछिको विकासको ढाँचामा मुल मर्मका रुपमा रहनु पर्दछ भन्ने रणनीतिका साथ विश्वव्यापी रुपमा नै सन् २०१६ देखि नै यो अभियानलाई दिगो विकास लक्ष्यसँग जोडेर मनाउन थालिएको छ । दिगो विकास लक्ष्यको पाँचौँ लक्ष्य लैंगिक समानता कायम गर्ने तथा महिला र किशोरीहरुको सशक्तिकरण गर्ने रहेको छ । यसलाई स्थानीकरण गर्न योजनाहरु बनेका छन् । दिगो विकासले २०३० सम्म प्राप्त गर्ने गरी लक्षित गरेका १७ वटा लक्ष्यले कुनै न कुनै रुपमा महिलाको अधिकार, हिंसा न्यूनीकरण र समानतासँग जोडिएका छन् ।
नेपाल पनि धेरै वर्ष अगाडिदेखि यो अभियानको एउटा कडीको रुपमा रहेर हरेक वर्ष कार्यक्रममा सहभागी रहँदै आएको छ । पहिलेको तुलनामा घर, परिवार, समाजमा चेतना बढेको अवस्था रहेको छ । क्रमशः घरघरमा महिलाले सम्मानपूर्ण बोली, व्यवहार र घरेलु जिम्मेवारीमा पुरुषको साथ पाउन थालेका छन् । हाल कोभिडको अवस्थामा महिला, बालिकाहरु अझ हिंसामा परेको अवस्था रहेकोले मनोसामाजिक सहयोग, महिला हिंसा अन्त्यका लागि पुरुष सहभागिता, राजनीतिक दलमा कम्तीमा ३३ प्रतिशत अर्थपूर्ण सहभागिता, महिला हिंसा अन्त्यको मुद्दामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मात्र क्रियाशील नभई अर्थ, कृषि लगायत सबै मन्त्रालय, विभागको पनि बराबर जिम्मेवारी, असमान शक्ति सम्बन्धको लेखाजोखा सहितका कार्यक्रम सार्थक हुनेछन् ।
नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिकको निर्णयमा राष्ट्रिय स्तर, जिल्ला स्तर तथा समुदाय स्तरमा लंैगिक समानता, अधिकारको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको समन्वयमा यो अभियान मनाउन लागीएको छ । महिला हिंसाविरुद्घको क्रियाकलापलाई कल्याणकारी सोचबाट नहेरी अधिकारमुखी सोचबाट हेर्नुपर्दछ । ब्यक्तिगत स्तरदेखि प्रतिबद्घ भई प्रयासमा लाग्यांै र आफ्नो अधिकारप्रति सचेत रहेर अधिकारको दावा गर्न सक्यौं भने महिला हिंसाको अन्त्य गर्न हामी सक्छांै । महिला हिंसाविरुद्घमा आजैदेखि ब्यक्तिगत स्तरदेखि नै काम गर्न थालांै ।
आफूमाथि कुनै प्रकारको हिंसा भएमा, भइरहेको वा हुन लागेको थाहा पाएमा प्रतिकार गरौं । स्थानीय तह, नगरपालिका, नजिकको प्रहरी कार्यालय, राष्ट्रिय महिला आयोगमा महिला हिंसाविरुद्घ लेखेर वा मुखले भनेर उजुरी दिन सकिन्छ । जिम्मेवार निकायले आफ्नो जिम्मेवारी पूरा नगरेमा उनीहरुलाई जवाफदेही बनाउनु पनि हाम्रो कर्तव्य हो । त्यसैले हिंसा सहेर हिंस्रकलाई हौसला बढाउने होइन, हिंसाविरुद्घ अभियान छेडेर जिम्मेवार नागरिकको परिचय दिऊँ । देशले असल नागरिक उत्पादन गर्ने इकाई भनेको घर नै हो । आ–आफ्नो घरमा सबै महिला, पुरुष, बालबालिका सम्मानपूर्वक बाँच्ने वातावरण बनाउन घरलाई लैंगिक हिंसामुक्त गराई घरैबाट शुरु गरौं । महिला हिंसा अन्त्य गरौं भन्ने नाराका साथ ३०औं लैंगिक हिंसा विरुद्धको अभियान सफल र सार्थक बनाआंै ।
(लेखक खाँड अधिकारकर्मी हुन् ।)





