पत्रकार पराजुलीको दोस्रो पुस्तक `मोम्चो´ सार्वजनिक

गैंडाकोट, १९ मंसिर ।
कथाकार एवं पत्रकार वसन्त पराजुलीको दोस्रो पुस्तक ‘मोम्चो’ कथासङ्ग्रह सार्वजानिक भएको छ । भूँडीपुराण प्रकाशनबाट प्रकाशित उक्त पुस्तकमा ११ समसामयिक कथा समावेश गरिएको छ ।

अक्षर समूह चितवनको आयोजनामा गैंडाकोटस्थित द नारायणी रिसोर्टमा आयोजित कार्यक्रममा चेपाङ किशोरी रमिता चेपाङले कृति सार्वजानिक गरिन् । सङ्ग्रहभित्रका कथाहरूमा चेपाङ समुदायमा बढ्दो बालविवाह र त्यसका कारण महिलाले भोग्नुपरेका विविध समस्यालाई जीवन्त र सजीवरूपमा उतारिएको लेखक पराजुलीले बताए ।

साहित्यकार श्रीओम श्रेष्ठ रोदनले ‘मोम्चो’ कथासङग्रहका कथाले समाजमा नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसतात्मक समाजको परिणामस्वरुप सिर्जित नारी समस्यालाई सशक्तरूपमा उठान गरेको बताए । उनले भने, “कथाको दम कथाकारितासँगै कथाशक्तिमा पनि उत्तिकै जोडिएको छ । कथाका सन्दर्भ र परिवेशले कथाहरू चेपाङ समुदायका मोम्चोहरूकै वरिपरि घुमेका छन् । कथाहरू आँखाले पढेर आत्मसात गर्ने खालका छन् ।´ लेखकहरू पुरस्कार र सम्मानको वाहिवाहीबाट जोगिनुपर्ने बताउँदै कथाकार पराजुलीले पहिलो कृति कुमातामा भन्दा मोम्चोमा धेरै नै मेहनत गरेको रोदनले बताए ।

पुस्तकमाथि बोल्दै पत्रकार अश्विनी कोइरालाले पितृसत्तात्मक समाजमा नारीले भोग्नुपरेका समस्या र संघर्षलाई लेखक पराजुलीले मार्मिकरूपले सरल भाषामा प्रस्तुत गरेको बताए । कथाहरूमा ग्रामीण बिषयबस्तुको चित्रण गरिएको पनि उनले बताए । आख्यानकार अश्विनी कोइरालाले सरल भाषामा नारी वेदनालाई कथाले जीवन्तरूपमा प्रस्तुत गरेको पनि बताए ।

कथाकार पराजुलीको यसअघि ‘कुमाता’ कथासङ्ग्रह प्रकाशित छ । कुमाता अहिले तेस्रो संस्करण सार्वजनिक भैसकेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले सञ्चारकर्मी पराजुली साहित्य विधामा पनि शसक्तरूपमा कलम चलाउन थालेको टिप्पणी गरे ।

भूँडीपुराण प्रकाशनका प्रबन्ध निर्देशक केशव पराजुलीले वसन्तका कथा नारीवादी भएको बताए । `वसन्तले नारीका व्यथा र चित्कारलाई कथामार्फत उतारेका छन्, उनले भने । मोम्चो चेपाङ भाषाको शब्द भए पनि कृति प्रकाशनपछि यो शब्द बोलीचालीको भाषामा आएको प्रकाशक पराजुलीले बताए । समूहका अध्यक्ष प्रभाकर पण्डितले पत्रकारितासँगै साहित्य क्षेत्रमा कथाकार पराजुलीको कलम सशक्तरूपमा चलेको उल्लेख गरे ।

कार्यक्रममा महिला अधिकारकर्मी मीना खरेल, अक्षर समूहका कोषाध्यक्ष माया गुरुङ र सचिव लेखराम सापकोटालगायतले कथासङ्ग्रहका बारेमा चर्चा गरेका थिए । पराजुली लामो समयदेखि ‘गोरखापत्र दैनिक’का चितवन जिल्ला समाचारदातामा कार्यरत छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट