मुलुकको ठूलो पार्टी नेकपा (एमाले) को दशौँ महाधिवेशन चितवनमा सम्पन्न भएको छ । मंसिर १० गते व्यापक जनसहभागितामा नारायणी नदी किनारमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र राप्ती किनार सौराहामा चार दिनसम्म चल्यो । बन्द सत्रका लागि पूर्वनिर्धारित समय दुई दिन भएपनि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि अन्ततः निर्वाचनमा जाँदा बन्द सत्र थप दुई दिन लम्बियो ।
महाधिवेशनले अध्यक्षमा केपी शर्मा ओलीलाई पुनः निर्वाचित गरेको छ । ओलीका प्रतिष्पर्धी भीम रावलले आफूले हार्दैछु भन्ने जानेर पनि चुनाव गराइछाडे । यो अडान नै रावलको जित बनेको छ । अध्यक्ष ओलीका अगाडि नतमस्तक हुने घघडान एमाले नेताहरुको लर्कोमा लागेनन् रावल । एकल बृहस्पति बनेका रावलले अब पनि पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्छ ।
चितवनमा सम्पन्न नेकपा (एमाले) को दशौँ महाधिवेशनले ओलीको राजलाई बलियो बनाएको छ । केन्द्रीय समितिमा उनले चाहेकै अनुहार आएका छन् । ओलीले चाहेजस्तो केन्द्रीय समिति बनेको छ ।नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल निर्विरोध भएका छन् । उपाध्यक्षमा ओलीले आफ्ना प्रतिष्पर्धी रावललाई प्रस्ताव गरेका थिए । तर रावलले अस्वीकार गरेका थिए । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । निर्वाचित सबै उपाध्यक्ष अध्यक्ष ओलीका अगाडि निरीह छन् । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा बादल विजयी भएका छन् । सचिवमा ओलीकै प्रिय पात्रहरु गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका छन् ।
पदाधिकारीमा विजयी भएका यी नामहरु अध्यक्ष ओलीले त्यसअघि नै सर्वसम्मतिको स्वीकृतिका लागि बन्दसत्रमा प्रस्ताव गरेका थिए । निर्वाचनपछि पनि ती नामहरु नै पदाधिकारीमा आए । निर्वाचन स्वच्छ र निष्पक्ष भने भएन । पहिले प्यानल बनाउन नपाइने भनेर उर्दी जारी गरेका अध्यक्ष ओली आफैले प्यानल खडा गरे । ओली प्यानलमा रहेकाहरुको नामावली समेटिएको पर्चा महाधिवेशन प्रतिनिधिहरुको हातहातमा थमाइयो । त्यही पर्चा लिएर गई मतदान गरे केन्द्रीय प्रतिनिधिहरुले । रावल मोर्चाले यसको विरोध गरे पनि सुनुवाई भएन । यसले नेकपा (एमाले) भित्रको आन्तरिक लोकतन्त्र कति कमजोर रहेछ भन्ने छर्लङ्ग भएको छ ।
अध्यक्षका रुपमा केपी शर्मा ओलीको दोस्रो कार्यकालमा एमालेभित्रको लोकतन्त्र बलियो बनोस् । मुलुकबाट राजतन्त्रको बिदाई भयो, अब एमालेबाट पनि त्यो अवशेष हराएर जाओस् । अध्यक्ष ओलीलाई शुभकामना छ ।




