भरतपुर, १५ मंसिर ।
डोल्पामा धर्म परिवर्तन गराएको अभियोगमा अदालतले एक जनालाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश केशवराज चपाईंको इजलासले पाश्चर केशवराज आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरेको हो ।
उपचार गर्ने भन्दै ‘प्रभु येशुको नाममा हटिजा’ भनेको र ती महिलाहरुको फोटो भिडियो खिचेर प्रचारप्रसार गरेको भन्दै जिल्ला अदालत डोल्पामा मुद्दा परेको थियो । उनलाई मुलुकी फौजदारी संहिताको दफा १५८ को देहाय १, २ र ३ अनुसार अदालतले सजाय सुनाएको वैतनिक वकिल घनश्याम उपाध्यायले जानकारी दिए ।
आचार्य पोखरा चिप्लेढुंगास्थित प्रशस्त कटनी मण्डलका पाश्चर हुन् । उनीविरुद्ध जिल्ला अदालत कास्कीमा पनि धर्मपरिवर्तनसम्बन्धी मुद्दा विचाराधीन छ ।





