सौराहा, १३ मंसिर ।
नेकपा (एमाले)को १०औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका चयनका लागि अहिले ९ बजेदेखि हुने भनिएको निर्वाचन प्रक्रिया लम्बिने भएको छ । जारी निर्वाचन प्रक्रियाको तयारी नओउग्दा मतदान सुरु हुन ढिलाइ हुने भएको हो ।
निर्वाचन कार्यतालिकाअनुसार दिउँसो ३ बजे नै प्रकाशित भइसक्नुपर्ने उम्मेदवारहरुको अन्तिम नामावली अझैसम्म प्रकाशन हुन सकेको छैन ।
एमालेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले अबको केही समयमै उम्मेदवारहरुको अन्तिम नामावली आउने बताए । अन्तिम नामावली तयार भएपछि विद्युतीय भोटिङ मेसिन (ईभीएम)को प्रणालीमा अपडेट गरिने छ ।
उम्मेदवारहरुको नामावली ईभीएममा प्रविष्ट गर्न कम्तीमा पनि ३ देखि ४ घण्टाको समय लाग्ने सुब्बाले जानकारी दिए ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यक्रममा सोमबार राति ९ बजेदेखि मतदान सुरु हुने भनिएको छ । तर, उम्मेदवारहरुको अन्तिम नामावली तयारमा भएको ढिलाइ र त्यसपछि उक्त नामावली ईभीएममा प्रविष्ट गर्दा लाग्ने समयका कारण मतदान सुरु हुन ढिलाइ हुने भएको छ ।




