वैदेशिक  रोजगार आकर्षण कि बाध्यता ?

जिन्दगी सोचेको जस्तो कहाँ  हुँदो रहेछ र ? झन्  हिजो पल्लाघरे साहिँली दिदीका कुरा सुनेदेखि त न दिनमा भोक छ , न रातमा निद नै । एकछिन पनि आँखा ओभाउन पाएको छैन । के सोच्यो के भइदिन्छ है ! घरजग्गा जोडौँला, छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिउँला, साहुको ऋण चुक्ता गरौँला भनेर अनेक सपना सजाएर वैदेशिक  रोजगारका लागि मातृभूमि छोडेकी साहिँली दिदी कहिल्यै निको नहुने प्राणघातक रोग एचआईभी एड्सको सिकार बन्न पुगिछन् ।

अर्काको भूमिमा कसैको घरको कोठामा नजरबन्दमा बसेर दिनहुँ  सयौँको यौन प्यास मेटाउन बाध्य साहिँली दिदी चाहेर पनि नेपाल फर्कन नपाउँदाको पीडा शब्दमा बयान गर्न कसरी सकिएला र खै ? बल्लतल्ल उद्दार भएर गाउँ फर्किएकी साहिँली दिदीलाई गाउँलेले गरेको दुर्व्यवहार सम्झिँदा पनि जिरिङ्ग हुन्छ । `चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी´ , `यस्तालाई यस्तै हुनुपर्थ्यो´, `एउटा पोइले नपुगेर घर छोडेर हिडेसी यस्तै हुन्छ ?´ होइन समाज केही बुझेर बोल्छ या घाउमा नुन चुक छर्न बोल्छ । यस्तो अवस्थामा सामाजिक बहिष्कार र तिरस्कार होइन माया, अपनत्व, सहयोग र सद्भावको जरुरत पर्छ । जुन कुरा साहिँली दिदीले पाउन सकिनन् र एकाबिहानै आत्महत्याको खबर सुन्नुपर्‍यो ।

साहिँली दिदी त यो समाजको एउटा प्रतिनिधि  पात्र मात्रै हुन् । यस्ता लाखौँ पात्रहरु छन्  जसका आफ्नै पीडा र व्यथा छन् । पछिल्लो समय युवा पुस्ताका लागि वैदेशिक रोजगार आकर्षण बन्दै  गइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँ १४०० भन्दा बढीले नेपाल छोडिरहेका छन् । यसलाई हर्ष मानौ कि विस्मात ! सरकार त सायद हर्ष नै मान्ला रेमिट्यान्स जो भित्रिन्छ । पीडा त तिनीहरुलाई छ जसका आफन्ती बाकसभित्र आएका छन् । राजनैतिक  अस्थिरताका कारण देशमा लगानी गर्न डराउने हुँदा यहाँ रोजगारीका अवसर पनि न्यून छन् । दिनहुँको महङ्गी र बढ्दो बेरोजगारी समस्याको एउटै अचुक औषधि  बनिरहेको छ वैदेशिक  रोजगार ।

वैदेशिक रोजगार आय आर्जनका लागि आफ्नो देश भन्दा बाहिर गएर शारीरिक अथवा मानसिक श्रम गर्ने रोजगारी हो । विश्व बजारमा वैदेशिक रोजगारीका लागि विभिन्न देशका जनशक्तिहरू खपत हुने गर्दछन् । वर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजागारको रेमिट्यान्सले धानिरहेको अवस्था छ । नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यकता अनुरुपका युवा जनशक्तिहरूलाई सिमित समयका लागि आधिकारिक तवरले पठाउँदै आएको छ । सरकारले कानुनी रुपमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका हकमा (संस्थागत) एक सय दसवटा देश खुला गरेर श्रम स्वीकृति जारी गर्दै आए पनि हालसम्म आठ वटा देशहरुसँग मात्रै सरकारले दोहोरो श्रमसम्झौता  गर्न सफल भएको छ । नेपालको कुल जनसङ्ख्यामध्ये २८ लाख १२ हजार नेपाली वैदेशिक रोजगारमा रहेको तथ्याङ्क राष्ट्रिय  मानव अधिकार आयोगले हालमात्रै सार्वजनिक गरेको छ ।

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई नेपाली कामदारहरुलाई वैदेशिक रोजगारीमा पठाउने सन्दर्भमा श्रम स्वीकृतिका लागि पेश गरिने कागजात प्रमाणहरु सत्य र तथ्यमा आधारित नभएको अवस्थामा  वैदेशिक रोजगारीमा जाने कामदारहरु करार बमोजिम काम, सुविधा नपाई मर्का पर्ने, विदेशी भूमिमा पिडित बन्नु पर्ने, स्वदेश फर्कन कठिनाई हुने, कतिपय अवस्थामा जेल सजाय समेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनु पर्ने हुन सक्छ । त्यसैले श्रम विभागसँग समन्वय  गरी आवश्यक  प्रक्रियाहरु पूरा गरेर गएको खण्डमा  सुरक्षित  आप्रवासनको सपना साकार हुनेछ । छिमेकीले धेरै कमायो , साथीभाइहरुले कार चढेर हिँडे, म मात्रै पछि परेँ भनेर कहीँ कतै केही नबुझी  पैसाको पछि दौडिँदा दलालहरुले फाइदा उठाइरहेका कैयौँ उदाहरणहरु हाम्रै आँखा वरिपरी छन् । अवैधानिक  तवरले जाँदै गर्दा थुप्रै समस्या झेल्नु परेको हामीले देखेका छौँ । कहाँ जाने ? के मार्फत जाने ? कसरी गए सुरक्षित  भइन्छ ? कस्तो कामका लागि जाने ? पारिश्रमिक  कति हुने ? लगायतका सम्पूर्ण  कुराहरु नबुझी त्यसै हामफाल्दा जिन्दगी नै बर्बाद हुन सक्छ । यदि तपाई वैदेशिक रोजगारीमै जाने निर्णय लिइसक्नुभएको छ भने त्यसका लागि सबैभन्दा पहिले सुरक्षित  आप्रवासन परामर्श केन्द्रमा गएर परामर्श लिन सक्नुहुनेछ । यहाँबाट सबै प्रक्रिया पूरा गर्दागर्दै पनि कहिलेकाहीँ त्यहाँ पुगिसकेपछि पनि विभिन्न समस्याहरु पर्न सक्छन्  र ती समस्याहरु कहाँ र कसलाई राख्ने भन्ने थाहा नहुँदा धेरै नेपालीहरुले दुःख भोगिरहनु परेको छ र ती भोगाइहरु राख्ने ठाउँ भनेको कुटनीतिक नियोग हो तर विडम्बना सबै गन्तव्य मुलुकमा कूटनीतिक नियोग भने छैनन् ।

विभिन्न ३० वटा मुलुकमा ३९ वटा आवासीय नियोग मात्र छन् । यहिकारण नेपाली कामदारहरु कहिलेकाहीँ आपतकालीन अवस्थामा पर्दा उद्धार गर्न तथा हकहितका लागि पहल गर्न निकै चुनौती छ । थोरै मुलुकमा भएका कूटनीतिक नियोगहरुमा पनि मानव संसाधनको कमी छ । पर्याप्त भौतिक संरचना छैन जसले गर्दा गन्तव्य मुलुकमा नेपाली श्रमिकहरु समस्यामा पर्दा उद्धारको पहल गर्न असहज  देखिने गरेको कुरा सरोकारवालाहरु बताउँछन् । ठूलो संख्यामा नेपाली कामदार रहेका कतार, संयुक्त अरब इमिरेट्स(युएई), साउदी, कुवेत बहराईन, दक्षिण कोरिया तथा इजरायललगायत ३० वटा मुलुकमा ३९ वटा आवासीय नियोग छन् । यिनै नियोगहरुले आवासीय प्रतिनिधि नभएका अन्य मुलुकका नेपालीलाई आवश्यक सेवा उपलब्ध गराउँछन् । एउटै नियोगले थुप्रै मुलुकमा रहेका नेपालीलाई सेवा पुर्‍याउन नसक्दा समस्यामा परेका नेपालीलाई उद्धार तथा सहजीकरणको काममा ढिलासुस्ती हुने गरेको पनि देखिएको छ ।

आफ्नो छानो चुहाइचुहाइ अरुका महल ढलान गर्दिने, कोरिया गइ खोरिया खन्ने, आफ्नो सीप र श्रम विदेशी भूमिमा पोख्न तयार हुने नेपाली साँचै नै महान छन् । काम आफैमा सानो ठूलो हुँदैन तर आत्मसम्मान भने हुनुपर्छ । नेपालको अर्थतन्त्रको  मेरुदण्ड नै वैदेशिक रोजगार रहेको सन्दर्भमा वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकहरुको श्रम अधिकार र मानव अधिकारका सन्दर्भमा सरकार सचेत बन्नैपर्छ र सँगै स्वयम् श्रमिक पनि । सरकार , श्रमिक र रोजगारदाताको त्रिपक्षीय सम्बन्ध राम्रो भएको खण्डमा वैदेशिक रोजगार सबैका लागि आकर्षण  बन्ने छ न कि बाध्यता !

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट