भरतपुर, १३ मंसिर ।
कवि रेवतीरमण खनालको कवितासङ्ग्रह `बागी अक्षरहरू´ सार्वजनिक भएको छ । `बागी अक्षरहरू´ खनालको सातौँ कृति हो । कवि खनाल हृदयले प्रेमिल र विचारले बिद्रोही चेत भएका प्रगतिवादी कवि हुन् ।
शनिबार सार्वजनिक गरिएको यो सङ्ग्रहमा खनालका ५५ वटा कविताहरू छन् । राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र नागरिक स्वतन्त्रताको स्वरको परख गर्नमा खनालका कविताहरू सफल मानिन्छन् । यो सङ्ग्रहमा महिला , मजदुर र किसानका सरोकारहरू बारेका आवाजलाई कविले कविताका रूपमा प्रस्तुत गरेका छन् ।
अर्ग्यानिक बिम्ब र नवीन शैलीको प्रयोग गरिएकोले कविताका पारखीलाई रसास्वादन मिल्ने कवि खनालले विश्वास लिएका छन् ।
खनालका यसअघि ल्याउँ साम्यवाद (काव्य), कथोपकथन (कविता र गीत), मान्छेभित्र मान्छेको खोजी (हाइकू), गजलपथका यात्रीहरू (गजल सहलेखन), जूनको रोटी (कविता) र अर्जुन बाण (मुक्तक) सङ्ग्रह प्रकाशित छन् ।
साहित्य संगम चितवनले प्रकाशन गरेको सङ्ग्रहलाई सम्पूर्ण किताबले वितरणको जिम्मा लिएको छ । पुस्तकको मूल्य २५० रुपैयाँ छ । कवि खनाल साहित्य संगम चितवन र प्रगतिशील लेखक संघ चितवनमा आवद्ध छन् ।





