भरतपुर, १० मंसिर ।
नेकपा (एमाले)को १०औँ महाधिवेशनलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्ने छन् । उनी हेलिकोप्टरबाट आउने बताइएको छ ।
महाधिवेशन उदघाटन सत्रमा सम्बोधन गरेर देउवा दिउँसो १ः१५ बजे काठमाडौं फर्किने छन् । तामाङका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का महन्थ ठाकुर वा राजेन्द्र महतो पनि कार्यक्रममा आउने छन् ।
एमाले छोडेर नेकपा (समाजवादी) पार्टी खोलेका माधव नेपाललाई भने एमालेले निम्ता नै दिएको छैन । त्यसैले नेता नेपाल महाधिवेशनमा जाने छैनन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने आउने निश्चित छैन । महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत आउँदै छन् ।
महाधिवेशन आजदेखि १२ मंसिरसम्म हुने छ । महाधिवेशनको उदघाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने एमालेको विश्वास छ । बन्दसत्र सौराहामा गरिँदै छ ।




