भरतपुर, १० मंसिर ।
नेपाली राष्ट्रिय महिला टोलीले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको चौंथो खेलमा आज मलेसियाविरुद्ध खेल्दैछ । दुबईको आईसीसी एकेडेमी मैदानमा हुने खेल नेपाली समयअनुसार ११:१५ बजे सुरु हुनेछ ।
ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपाललाई मलेसियाविरुद्ध जितको विकल्प छैन । त्यसैले नेपाल बलियो मलेसियाविरुद्ध २ अंकको खोजीसहित नेटरनरेटलाई सुधार गर्ने योजनामा हुनेछ ।
३ खेल खेलेको नेपाल २ जीतसहित दोस्रो स्थानमा छ। नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित हुँदा दोस्रो खेलमा भूटानलाई ८ विकेटले हराएर विजयी सुरुवात गरेको थियो । तेस्रो खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्यो ।
आज मलेसियालाई हराए नेपाल शीर्ष स्थानमा फर्कने छ । ३ खेल जितेको आयोजक यूएई ६ अंकसहित शीर्ष स्थानमा छ । नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन अन्तिम खेलमा यूएईको सामना गर्नेछ ।
नेपालले सन् २०१९ मा भएको दुबै भेटमा मलेसियालाई पराजित गरेको छ । जनवरीमा भएको खेलमा ६ विकेटले जीत निकाल्दा फेब्रुअरीमा भएको खेलमा ३४ रनले पराजित गरेको थियो ।
आज नै हुने खेलमा हङकङले भूटानको सामना गर्नेछ ।




