भरतपुर, १० मंसिर ।
पार्टीको महाधिवेशन भनेपछि यसै त भीडभाड बढ्छ, झन् देशकै ठूलो पार्टीको ! नारायणगढमा आज ‘पाइला राख्न’ मुस्किल छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन आजबाट यहाँस्थित नारायणी नदी किनारमा उद्घाटन गरिँदै छ । त्यसका लागि ५ लाख मान्छे उतार्ने घोषणा एमालेले धेरै अघि नै गरेको हो ।
शक्ति प्रदर्शनका लागि सकेको बल प्रयोग गरिरहेको एमालेले साँच्चै ५ लाख जनता उतार्ला त ? ठ्याक्कै सङ्ख्या थाहा हुने कुरा भएन । तर, मान्छेचाहिँ बेसरी आउने छनक अघिल्लो दिनै देखिइसकेको छ । उद्घाटनको पूर्वसन्ध्यामा नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन प्रचारप्रसार समिति संयोजक योगेश भट्टराईले ‘मानव समुद्र उर्लने’ उद्घोष गरिसकेका छन् ।
प्रेस चौतरी चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले महाधिवेशन उद्घाटनको सबै तयारी पूरा भएको जनाए । महाधिवेशनको उद्घाटन नदी किनारमा गरिए पनि बन्दसत्र सौराहामा गरिने छ । बन्दसत्रमा दुई हजार एक सय ७५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने छन् । जसमध्ये महिला ६२७ र दलित उत्पीडनतर्फ २०९ जना प्रतिनिधि सहभागी हुने प्रचार संयोजक भट्टराईले जानकारी दिए । महाधिवेशनमा आउने प्रतिनिधिको स्वागतको लागि चितवनमा मात्रै ५० बढी स्वागतद्वार निर्माण गरिएको छ ।
महाधिवेशनमा १०३ जना पर्यवेक्षक खटिने भट्टराईले जानकारी दिए । महाधिवेशनमा भारतीय जनता पार्टीलगायत अन्य कम्युनिष्ट पार्टीको प्रतिनिधिको सहभागिता रहने छ । “मित्रराष्ट्र भारत, बंगलादेश, श्रीलङ्का, कम्बोडियाका राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहनेछ । “कोरोनाका कारण चिनियाँ कम्युनिष्ट पार्टीको सहभागिता नहुने भएको छ, उहाँहरुले हामीलाई भिडियो सन्देश पठाउनुभएको छ”, नेता भट्टराईले भने ।
यस्तै नेपालका विभिन्न राजनीतिक दलका प्रतिनिधि उपस्थित हुने पनि उनले बताए । नेपाली कांग्रेस र प्रधानमन्त्रीको हैसियतले शेरबहादुर देउवाले महाधिवेशन सम्बोधन गर्ने पनि नेता भट्टराईले जनाए । शुक्रबार १२ बजेको उद्घाटन सत्रपछि बेलुका सौराहामा प्रतिनिधिहरुलाई परिचय वितरण गरिनेछ ।
पार्टी प्रतिनिधि तथा स्वयंसेवकलाई आवास र खानाको प्रबन्ध पार्टीले गरेको छ । १२ गते हुने बन्दसत्रमा अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन् भने विदेशी पाहुनाले पनि सम्बोधन गर्ने प्रचारप्रसार संयोजक भट्टराईले बताए । त्यसलगत्तै निर्वाचन आयोगले निर्वाचन प्रक्रिया थाल्नेछ । ११ गते साँझसम्म उम्मेद्वारी दर्ता दाबी, विरोध तथा फिर्तापछि ६ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । अन्तिम दिन १२ गते ८ बजेबाट इलेक्ट्रिक भोटिङ मेसिनबाट मतदान कार्यक्रम चल्नेछ ।
भोटिङ मेसिन एक सय वटा ल्याएको छ भने ९० वटा प्रयोगमा आउनेछन् र १० वटा एक्स्ट्रा राखिने उनले जनाए । “१२ गते साँझसम्म मतपरिणाम आइपुगेर पार्टीको नयाँ नेतृत्वको चितवन घोषणा हुने छ”, प्रचारप्रसार संयोजक भट्टराईले दाबी गरे ।
महाधिवेशनले १५ पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी तथा लेखा र अनुशासन आयोगमा १५/१५ जना निर्वाचित गर्ने छ ।
खर्च साढे सात करोड
महाधिवेशनमा साढे सात करोडभन्दा बढी खर्च हुने भएको छ । आवास, खाना, मञ्च, छपाईलगायत सम्पूर्ण खर्चमा करिब साढे सात करोड खर्च अनुमान गरिएको पार्टीले जनाएको छ । महाधिवेशनको सम्पूर्ण खर्च पार्टीको आन्तरिक स्रोतबाट जुटाइएको प्रचार संयोजक योगेश भट्टराईले जानकारी दिए । “महाधिवेशनको लागि पार्टी सदस्यबाट सय रुपैयाँ, लेबी, प्रतिनिधिबाट उठाइएको इन्ट्री फीलगायत स्रोत नै महाधिवेशनमा खर्च हुनेछ”, उनले भने ।
कम्युनिष्ट पार्टीको कार्यक्रममा किन यतिका तामझाम र खर्च भन्ने पत्रकारको जिज्ञासामा उनले महाधिवेशन पार्टीको ठूलो उत्सव भएकोले खर्चमा चिन्ता गर्न नहुने बताए । “कुनमा चाहिँ खर्च गर्ने त उत्सव हो माहोल हो । हामी मलामी गएका होइनौँ नि उत्सवमा त खर्च गर्नुपर्छ ।”
पाँच हजार स्वयंसेवक
उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक खटिने भएका छन् । उद्घाटन स्थलमा पाँच लाख उतार्ने दाबी गर्दै आएको पार्टीले महाधिवेशन सहभागी हुन आएका नेता कार्यकर्ताको सहजीकरणको लागि स्वयंसेवक खटाउन लागेको महाधिवेशन प्रचार संयोजक भट्टराईले बताए ।
स्वयंसेवकलाई पार्टीले बुधबार प्रशिक्षण दिएको छ । पार्टी कार्यालयको सभाकक्षमा ३०० स्वयंसेवकलाई प्रशिक्षण दिइएको हो । पार्टीका जिल्ला अध्यक्ष पार्वती रावलले महाधिवेशनका लागि पाँच हजार स्वयंसेवकको व्यवस्था गरेर प्रशिक्षण दिइएको बताए । महाधिवेशनलाई सभ्य र भव्य बनाउन स्वयंसेवकलाई निर्देशन दिइएको उनले बताइन् ।
यी क्षेत्रमा चलाउन पाइँदैन गाडी
महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गरी भरतपुरका केही स्थानमा आज सवारी साधन प्रवेशमा रोक लगाइएको छ । आज शुक्रबार नारायणी नदी किनारमा उदटन समारोह हुँदै छ भने त्यसपछि बन्दसत्रका कार्यक्रम सौराहामा हुनेछ । उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेतादेखि विदेशी पाहुनाको उपस्थिति हुने भएकाले सवारी व्यवस्थापनका लागि केही स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाइएको हो ।
पुलचोकदेखि चौबिसकोठी हुँदै केन्द्रीय बसपार्क चोकसम्म, हाकिमचोक देखि गौरीगन्ज जाने सडक, चौबिसकोठीदेखि त्रिचोक खण्ड, सहिद चोकबाट उत्तर र दक्षिण जाने खण्ड, पुलचोकबाट उत्तर र दक्षिण जाने खण्ड र रमाइलो चोकबाट विशाल चोक निस्किने खण्डमा सवारीसाधान सञ्चालनमा रोक लगाइएको छ ।
“नो भेइकल मुभमेन्ट भनेका छैनौँ´´
यस्तै उद्घाटनको दिन चितवनमा ‘नो भेइकल मुभमेन्ट’ भनेर गलत हल्ला फैलाएको भट्टराईले स्पष्ट पारे । उनले भने, “नो भेइकल मुभमेन्ट’ भन्ने नि दुनियाँमा कहिँ हुन्छ ? पब्लिक गाडी, दमकल, एम्बुलेन्स सबै चल्छन् । सहजीकरणका लागि सुरक्षा निकायसँगै हाम्रा स्वयंसेवक खट्छन् ।”
एक दिनको लागि सवारीको अत्यधिक चाप र सडकको पूर्वाधार हेरेर मालबाहक सवारी भने रोकिदिन आफूहरुले आग्रह गरेको उनले बताए । जिल्ला सुरक्षा समितिसँग ‘नो भेइकल मुभमेन्ट’बारे कुनै सम्झौता नभएको संयोजक भट्टराईले जनाए । “भेइकल मुभमेन्ट हुन्छ व्यवस्थापन गर्ने जिम्मेवारी प्रशासनको हो । पब्लिक गाडी पनि चल्नुपर्छ एमालेको उद्घाटनमा आउने गाडी पनि चल्नुपर्छ दमकल साइकल सबै चल्नुपर्छ”, उनले स्पष्ट पार्दै भने ।
नारायणगढ–बुटवल राजमार्गमा ठूला सवारीसाधन रोक
महाधिवेशनलाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) का सुरक्षा निकायका प्रमुखको बुधबार सम्पन्न बैठकले बिहाबार साँझ ६ बजेदेखि नै शुक्रबार राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाउने निर्णय गरेको छ ।
विशेषगरी दाउन्ने सडकको जामलाई लक्षित गर्दै सवारीसाधनमा रोक लगाइएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले बताइन् । साँघुरो र उकालो/ओरोलो सडक रहेको दाउन्नेमा मालबहाक सवारीसाधनका कारण दिनहुँ जाम हुने गरेको छ । महाधिवेशनमा आउने सवारीसाधनको सङ्ख्या बढी हुने र त्यसको सहजताका लागि सवारीसाधनमा रोक लगाएको प्रजिअ पङ्गेनीले बताइन् ।
सो खण्डमा जाम भइहालेमा तत्काल बाटो खुलाउन क्रेनको व्यवस्था गरिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम हुँदै आउने मानिस दाउन्ने सडक हुँदै चितवन जानुपर्ने हुन्छ । लुम्बिनी प्रदेशबाट मात्रै ८० हजार कार्यकर्ता महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुने गरी व्यवस्था मिलाइएको छ । “दाउन्ने सडकको अवस्थाका कारण मालबाहक ट्रक, टिपर र अन्य खाली ट्रकलाई पूर्ण रूपमा रोक लगाइएको छ” प्रजिअ पङ्गेनीले भनिन्, “बुटवल हुँदै काठमाडौँ जाने यात्रुबाहक बससमेत पोखरा हुँदै आवतजावत गर्ने गरी व्यवस्था मिलाइएको छ ।”
अन्य निजी गाडीलाई पनि पोखरा हुँदै आवतजावतको व्यवस्था मिलाउन लुम्बिनी प्रदेश ट्राफिक कार्यालयसँग समन्वय गरिएको प्रजिअ पङ्गेनीले बताइन् । पूर्व–पश्चिम भएर आवतजावत गर्ने सवारीसाधनलाई बिहीबार साँझदेखि नै रुपन्देही र गैँडाकोटबाट रोक लगाइएको छ । आवतजावतमा थप सहजता ल्याउन चार वटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना)का दुई जनाका दरले सम्पर्क अधिकारी तोकेर संयुक्त गस्तीलाई परिचालन गरिएको प्रजिअ पङ्गेनीले बताइन् ।




