भरतपुर, ८ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र हुने स्थान होटल सेभेन स्टारको पर्खालमा कलात्मक चित्र कोरिएको छ । `समृद्ध नेपाल सुखी नेपाली´को थिममा आयोजना गरिएको चित्रकला प्रतियोगितामा चितवन र नवलपुरका ५७ जना कलाकारले चित्र कोरेका छन् ।
होटलको २०० मिटर लामो पर्खालमा कलाकारहरुले चित्र कोरेका हुन् । नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिको संयोजनमा सिर्जनशील ललितकला संघ र प्रगतिशील ललितकला संघको आयोजनामा चित्रकला आयोजना गरिएको हो । वि.सं. २०५५ सालदेखि चित्रकलामा सक्रिय वर्ड आर्ट लिंकका सञ्चालक योगेश खनालले समृद्ध नेपाल, सुखी नेपाली अवधारणामा चित्रहरु कोरिएको बताए ।
करिब २०० लामो पर्खालमा कोरिएको चित्र हेर्दा देशले चाहेको विकास र समृद्धिबारे सहजै बुझ्न सकिने भन्दै खनालले अधिकांश नवप्रवेशीहरुले चित्रकलामा भाग लिएको जानकारी दिए । कलाकारहरुले देशले शान्ति चाहेको आकृति, आँखाको नानीमा सूर्य चिन्हभित्र विकासका सूचक झल्कने चित्र, कृषिमा क्रान्तिको खाँचो औँल्याउने खालका चित्र, स्वयम्भु, धरहरा, परेवा, दुर्लभ पाटेबाघसहितका चित्रहरु कोरेका छन् । उत्कृष्ट चित्र बनाउने कलाकारलाई एमालेको महाधिवेशन उद्घाटनका दिन अध्यक्ष केपी शर्मा ओलीले नगद र प्रमाणपत्र सहित पुरस्कृत गर्ने बताइएको छ । 
२५ स्थानमा ‘सेल्फी प्वाइन्ट’
नेकपा (एमाले)को १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ । उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको हो ।
एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन् । उनले भने, “मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैँडा निर्माण गरिने छ ।” त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिने छ । उहाँका अनुसार यी दुई स्थायी संरचना निर्माणका लागि करिब रु पाँच लाख खर्च हुने अनुमान गरिएको छ ।
महाधिवेशन उद्घाटनस्थललाई थप आकर्षक बनाउनका लागि अन्य २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्वीर राखिने छन् । मदन भण्डारी, भिआई लेनिनका तस्वीर पनि सेल्फी प्वाइन्टमा राख्ने व्यवस्था गरिएको श्रेष्ठले बताए । ट्रेड युनियन महासङ्घको नेतृत्वमा निर्माण हुन लागेको मजदुरले उचालेको पृथ्वीले संसार बनाउने मजदुरको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिने उनको भनाइ छ । यसका लागि रु चार लाख खर्च हुने अनुमान गरिएको छ ।
एमालेको १०औँ महाधिवेशनको लोगो गैँडाले एमालेको झण्डा उठाएको प्रतिमा निर्माणका लागि रु एक लाख खर्च हुनेछ । यो फाइबरको बन्ने छ । नदी किनारमा स्थायीरूपमा राखिने यस्ता संरचनाले नदीको तटबन्ध गर्नका लागि राज्यको ध्यान पुग्ने श्रेष्ठ बताउँछन् । मञ्च निर्माणको काम ५० प्रतिशत सम्पन्न भइसकेको छ ।
उद्घाटनसत्रमा सहभागी हुने भीड नियन्त्रण गर्न पाँच स्थानमा बकेट (डोरीको छेकबार) निर्माण गरिने छ । दुई ड्रोनले नियमितरूपमा निरीक्षण गरिरहने छ ।
एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । सो महाअधिवेशन उद्घाटनसत्रमा पाँच लाखको सहभागिता रहने नेकपा (एमाले)ले जनाएको छ । उद्घाटनसत्र नारायणी नदी किनारमा र बन्दसत्र सौराहामा गर्ने तय भएको छ ।
नेताहरु आउन सुरु
नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि नेताहरु चितवन आउने क्रम सुरु भएको छ । महधिवेशनका लागि भन्दै पार्टी सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराई र पार्टीका वाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल बुधबार दिउँसो चितवन आइपुगेका छन् ।
नेता भट्टराईले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै आफूले सचिवमा नै दोहोर्याउने बताए । भट्टराईले पार्टीमा आफ्नो समय भएको भन्दै सचिवमा दोहोर्याउन चाहेको बताए । “मेरो अझै पार्टीमा समय छ” भट्टराईले भने, “अहिलेको चाहना पार्टी सचिवमा नै हो ।”
महाधिवेशन तयारीका लागि बेलुकासम्म महाधिवेशन मूल व्यवस्थापन समिति संयोजक रामबहादुर थापा बादल, पूर्वअर्थमन्त्री एवं पार्टी स्थायी कमिटी सदस्य सुरेद्र पाण्डे पनि चितवन आइपुगेको प्रचार सहयोग समिति चितवनका सचिव तिलकराम रिमालले जानकारी दिए । पार्टी नेताहरु चितवन आउने क्रम सुरु भएको भन्दै रिमालले उहाँहरुले जिल्लामा पार्टीको महाधिवेशनको तयारीका सन्दर्भमा भएका गतिविधिबारे अनुगमन तथा निर्देशन गर्ने बताए ।
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र ११ र १२ गते सौराहाको होटल सेभेन स्टारमा हुँदैछ ।




