भरतपुर, ८ मंसिर ।
गरिमा विकास बैंक लिमिटेडले मंगलबार १५औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रीय कार्यालय लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ, वुटवल, सुनवल, नारायणगढ, कावासोती, वीरगन्जलगायतका २१ शाखा कार्यालयमा एकैसाथ रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौँमा सम्पन्न रक्तदान कार्यक्रममा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सहकार्य गरेको थियो । सो कार्यक्रममा एक हजार १५५ प्वाइन्ट रगत संकलन भएको प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले जानकारी दिए ।
यसैगरी बैंकको एकैसाथ पाँच शाखा कार्यालयबाट कारोबार शुभारम्भ गरेको छ । मंगलबार पथरी शाखा–मोरङ, झुम्का शाखा–सुनसरी, सातदोबाटो शाखा–ललितपुर, माछापोखरी शाखा–काठमाडौँ र गुलरिया शाखा–बर्दियाको कारोबार शुभारम्भ गरिएको हो । यससँगै गरिमा विकास बैंकको शाखा सञ्जाल ११५ पुगेको छ ।
नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लामा ११५ शाखा कार्यालय एक एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ कारोबार गर्दै ६७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन तथा ६१ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
करिब ६ लाख निक्षेप एवं कर्जा खाताहरुमार्फत गबैंकले निरन्तर आफ्नो वासलात तथा प्रमुख वित्तीय सूचकहरुमा सन्तोषजनक प्रगति गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत ढकालले बताए ।




