गुणस्तरहीन भाइमसालादेखि सावधान

भरतपुर, १९ कार्तिक ।

भाइटीका नजिकिँदै जाँदा बजारमा गुणस्तरहीन भाइमसालाको विगविगी बढेको छ । गुणस्तरहीन तथा नक्कली भाइ मसालाले उपभोक्ताको स्वास्थ्यलाई नकारात्मक असर पार्ने जोखिम त बढेको छ । बढी मूल्यमा खरिद गरिएका खाद्य सामग्री बिग्रिएको पाइँदा उपभोक्ता ठगिने पनि गरेका छन् ।

“तयारी अवस्थामा बजारमा बेच्न राखिएका भाइमसाला वास्तविक मूल्यभन्दा बढी मूल्यमा बेचिँदै आएको जस्तो लाग्छ । हामीले जति पैसा खर्च गरेर त्यो मसाला किन्छौं, प्याकेटभित्रका खाने कुरा त्यही मूल्य पर्ने खालका हुँदैनन्”, भरतपुर–११ की सबिता सुवेदीले भनिन् । तयारी अवस्थामा रहेका त्यस्ता मसाला किन्दा पैसाको नै सत्यानाश हुने गरेको उनी सुनाउँछिन् । “कतिपय प्याकेटभित्रका खानेकुरा कुहिएको अवस्थामा पनि भेटिन्छन्”, उनले बताइन् । भाइमसालाको रूपमा घरमै बनाइएका खाद्य सामग्री प्रयोग गर्न सकिने उनी सुझाउँछिन् । “मानिसहरूले एकअर्काको अनावश्यक देखासिकी गर्दा तयारी भाइमसालातिर आकर्षण बढेको जस्तो लाग्छ । घरमा आफैँले पकाएका रोटी वा खानेकुरा राखेर आफैँले भाइमसाला तयार पार्न सकिन्छ नि”, सुवेदी थप्छिन् ।

भरतपुर निवासी रचना सापकोटा पनि चोक, किराना पसल तथा फुटपाथमा बेच्न राखिएका भाइमसाला गुणस्तरहीन हुने गरेको बताउँछिन् । “तयारी भाइमसालामा सजावटको मात्रै पैसा तिरिरहेका हुन्छौं जस्तो लाग्छ । मूल्य अनुसारको खाद्य वस्तु राखिएको नै पाइँदैन”, सापकोटाले भनिन् । बरु ओखर, काजु, किसमिस, लगायतका खानेकुरा छुट्टै किनेर आफैँले भाइमसाला तयार पार्दा ठगिने सम्भावना कम रहने उनले बताइन् ।

बजारमा तयारी अवस्थामा राखिएका भाइमसालाको मूल्य करिब ५० देखि हजारौँ रुपैयाँसम्म पर्ने गरेको छ । फुटपाथ, किराना पसल तथा चोकचोकमा बिक्रीका राखिएका यस्ता भाइमसाला कसले उत्पादन गरेको हो भन्ने नै स्पष्ट हुँदैन । उपभोक्ता संरक्षण ऐन, २०७५ ले उत्पादित तथा प्याकेजिङ गरिएका वस्तुहरूमा लेबल लगाउनुपर्ने व्यवस्था गरेको छ । सो लेबलमा उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नं उल्लेख गर्नुपर्ने हुन्छ ।

यस्तै, उत्पादित वस्तुको तौल तथा परिमाण, दुई वा बढी वस्तुबाट उत्पादन भएको भए त्यसको सम्मिश्रण, वस्तुको गुणस्तर, वस्तुको बिक्री मूल्य, उपभोग्य अवधि, उत्पादन मिति तथा ब्याच नंम्बर सम्बन्धी जानकारी पनि लेबलमा राखिनुपर्ने हुन्छ । तर बजारमा छ्याप्छ्याप्ती पाइने कमसल गुणस्तरका भाइमसालामा यस प्रकारको कुनै पनि लेबल लगाइएको पाइँदैन । डिपार्टमेन्टल स्टोर तथा सपिङ्ग मलहरूले तयार पार्ने गरेको भाइमसाला भने राम्रै पाएको सुमी दवाडीले बताइन् । “मैले भाइमसालाहरू डिपार्टमेन्ट स्टोरबाटै किन्ने गरेकी छु । बाहिर बेच्न राखेको भाइमसाला भन्दा डिपार्टमेन्ट स्टोरमा राखिएका भाइमसाला राम्रो पाएकी छु”, भाइमसाला किन्न भरतपुरस्थित भाटभटेनी सुपरमार्केट पुगेकी सुमी दवाडीले बताइन् ।

चाडवाडको समयमा गुणस्तरहीन वस्तुको बिक्रीवितरण बढ्न सक्ने सम्भावना भएकाले उपभोक्त पनि सचेत हुनुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाकी खाद्य अनुसन्धान अधिकृत श्रद्धा खनाल बताउँछिन् । “चाडवाडको समय सुरु भएदेखि नै बजार अनुगमन र उद्योगहरूको निरीक्षणलाई तीव्रता दिएका छौं । गुणस्तरहीन वस्तु खरिद नगर्नमा उपभोक्ता पनि चनाखो हुनु जरुरी छ”, खाद्य अनुसन्धान अधिकृत खनालले बताइन् । भाइमसालाको बिक्रीवितरण अन्य समयमा भन्दा तिहारको समयमा बढी हुने भएकाले पनि यस समयमा व्यापारीहरूले धेरै मुनाफा कमाउन गुणस्तरहीन सामग्रीको बिक्रवितरण गर्ने गरेका छन् ।

“उपभोक्ताले तिरेको रकम अनुसारको गुणस्तर र परिमाण भाइमसालामा नपाइने विभिन्न समयमा गरिएका अनुगमनबाट पुष्टि हुने गरेको छ । सडे गलेको, किरा परेको मसालाहरू मिसाइने हुँदा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने सम्भावना पनि उच्च रहेको छ”, खनालले भनिन् । खाद्य ऐन २०२३ ले समेत न्यूनस्तरको खाद्य पदार्थको उत्पादन, बिक्रीवितरण, पैठारी वा निकासा गर्न बन्देज लगाएको छ ।

चितवन जिल्ला प्रशासन कार्यालयले पनि चाडपर्व लक्षित अनुगमन कडा पारिएको जनाएको छ । सो क्रममा विभिन्न स्थानबाट गुणस्तरहीन ५ कार्टुन भाइमसाला जफत गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए । “कार्तिकको दोस्रो हप्ताको अनुगमनका क्रममा लगभग ८० प्याकेटका ५ कार्टुन भाइमसाला नियन्त्रणमा लिई १० हजार रुपैयाँ जरीवाना लिएका थियौं । ती भाइमसाला पनि नष्ट गरिसकेका छौं”, सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट