गैंडाकोट, १२ कात्तिक ।
गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत कात्तिक ७ गतेदेखि संस्थाको केन्द्रीय कार्यालयमा शुरु भएको साधारणसभाको शुक्रबार समापन भएको हो । संस्थाले यसअघि आफ्ना चारवटै सेवा केन्द्रहरुमा प्रतिनिधिमूलक साधारणसभा सम्पन्न गरिसकेको छ ।
श्रीरामपार्टी प्यालेस गैंडाकोट- २ मा शुक्रबार सम्पन्न २९औं साधारणसभालाई सम्बोधन गर्दै गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले संस्थाको नेतृत्व र कर्मचारिहरुको अथक मेहनतका कारण गैंडाकोट स्वाभिमानले राष्ट्रिय स्तरमै आफूलाई परिचित गराउन सफल भएको बताए ।
नगरप्रमुख पौडेलले आगामी दिनहरुमा नगरका सबै सहकारीहरुले `एक उद्यम एक सहकारी´को नीति अवलम्बन गरेर जान सके नगरको आर्थिक विकासले गति लिने धारणा व्यक्त गरे ।
साधारणसभामा गैंडाकोट नगरपालिकाकी उपमेयर विष्णुकुमारी कँडेलले सहकारीको ग्राम भनेर परिचित गैंडाकोटमा धेरै सहकारीहरू संचालनमा रहेको र यहाँ रहेका सबै सहकारीहरुले जहिले पनि सर्वसाधारणको हित हुने गरि सेवा दिनुपर्ने धारणा व्यक्त गरिन् । उनले सहकारीले नगरपालिकासँग सहकार्य गरेर काम गरेमा गैंडाकोट नगरपालिकालाई समृद्ध बनाउन सकिने विचार व्यक्त गरिन् । उपमेयर कँडेलले यहाँका सहकारीहरुमा ५४ प्रतिशत महिलाहरु उपभोक्ताका रुपमा सहभागि भए पनि नेतृत्वमा महिलाहरूलाई सहभागी नगराउनु विडम्वना भएको तर्क गर्दै अव पुरुषहरुले महिलाहरुलाई पनि नेतृत्वमा पुर्याउने भूमिका खेल्नुपर्ने बताइन् ।
२९ औं सााधारणसभालाई समापन गर्दै संस्थाका अध्यक्ष पोषणराज सुवेदीले सहकारीको सफलता र असफलतामा कर्मचारीको महत्वपूर्ण भूमिका रहने भएकाले कर्मचारीहरुले सेवा प्रवाह गर्दा मुस्कान सहितको सेवा दिनुपर्ने बताए । उनले आगामी दिनहरुमा वरिपरि रहेका समान प्रकृतिका संस्थाहरुलाई गैंडाकोट स्वाभिमान साकोसमा मर्ज गरिने अभियानमा समेत लाग्नुपर्ने धारणा राख्दै जनमुखी सेवाप्रवाहमा कुनै कमी नगरिने बताए ।
साधारणसभामा सहभागीहरुलाई संस्थाका उपाध्यक्ष विष्णु पौडेलले मन्तव्य मार्फत स्वागत गरेका थिए । साधारणसभा समापन समारोहमा उत्कृष्ट भूमिका निर्वाह गर्ने कर्मचारी, उद्यमी र सेवा केन्द्रहरुलाई पुरस्कृत एवं सम्मान गरिएको थियो ।
संस्थामा रहेर अहम भूमिका निर्वाह गर्ने प्रमुख व्यवस्थापक रामचन्द्र सुवेदी र संस्थाका निवर्तमान अध्यक्ष देवराज पौडेललाई प्रसंशापत्रसहित सम्मान गरिएको थियो ।
यसैगरि नवल सेवाकेन्द्रका संयोजक निर्मल न्यौपानेसहितको टोलीलाई पनि सम्मान गरिएको थियो ।
वर्ष उत्कृष्ट कर्मचारी घोषणा गर्दै संस्थाले आमा सेवाकेन्द्रकी कर्मचारी तुलसी सापकोटालाई पनि प्रसंशापत्रसहित सम्मान गरेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नेहरुमा उपभोक्ताहरुका तर्फबाट डण्डपाणि सिग्देल, महिला उपभोक्ताका तर्फबाट बिष्णुमाया पन्थी, पूर्वअध्यक्ष सुरेश पण्डित, पूर्वअध्यक्ष प्रेम गुरुङ, पूर्वअध्यक्ष धनबहादुर पौडेल, पूर्वअध्यक्ष वेदप्रसाद गौैडेल, निवर्तमानअध्यक्ष देवराज पौडेल, एसडिआरसिका अध्यक्ष जनक तिवारी र संस्थापक अध्यक्ष गोविन्द सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थामा हाल १० हजार ६ सय उपभोक्ताहरु आवद्ध रहेका छन् । २९ औं साधारणसभालाई संस्थाका अध्यक्ष पोषणराज सुवेदीले अध्यक्षता गरेका थिए भने सचिव कुलप्रसाद पाण्डेले सहजीकरण गरेका थिए ।





