भरतपुर, ११ कात्तिक ।
चितवनको माडी नगरपालिका- ९ बाँदरझुलाका बासिन्दाले नागरिकता पाएका छन् । माडी नगरपालिका र जिल्ला प्रशासन कार्यालय चितवनको संयूक्त आयोजनामा नागरिकता वितरण गरिएको हो । बाँदरझुलाकी ७३ वर्षीया हरिमाया प्रजालाई नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता हस्तान्तरण गरेर कार्यक्रमको उद्धघाटन गरेका थिए ।
सो अवसरमा ७२ वर्षको उमेरमा नागरिकता पाएकी फूलमाया प्रजाले अध्यक्ष प्रचण्डको हातवाट नागरिकता पाएकोमा खुसी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिएकी थिइन् । अर्की ७४ वर्षीय कृष्णमाया घलानले नागरिकता हातमा पाउँदा दंग पर्दै अब आफूले वृद्धा भत्ता पाउनेमा खुसी व्यक्त गरिन् । सात सन्तानकी हजुरआमा उनका सातै सन्तानसँग नागरिकता छैन । यस शिविरबाट २ छोरा २ बुहारी र उमेर पुगेका एक नातिले नागरिकता पाउँदैछन् ।
बाँदरझुलाको नाम परिवर्तन भई अहिले हनुमान झुलामा परिणत भएको छ । यस वडामा अधिकांशको नागरिकता छैन भने यहाँका वासिन्दाहरूसँग जग्गाधनी प्रमाण पुर्जा छैन । चितवन राष्ट्रिय निकुन्जभित्र रहेको सिमावर्ती वस्तीमा राष्ट्रिय निकुञ्जका कारण पूर्वाधार विकास र बस्ती विकासको काम हुन सकेको छैन ।
सो कार्यक्रममा प्रचण्डले भूमिहिन सुकुम्बासीको नागरिकता सम्वन्धी समस्यालाई वर्तमान सरकारले हल गर्ने गरी काम अगाडि बढाएको बताए ।
उनले बाँदरझुलाका नागरिकहरूलाई नागरिकता वितरण गरिनु यसको सुरूवात भएको बताए । ‘मैले भूमिसुधारमन्त्री र राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूलाई भनिसकेको छु, ठोस योजना बनाएर लालपूर्जा वितरण गर्नुहोस्’ उनले भने ।
सो अवसरमा दाहालले माडीको विकासमा आफूले निर्वाचनका क्रममा गरेका बाचाअनुसार काम अगाडी बढाइरहेको बताए ।
‘हामीले निर्वाचनका क्रममा गरेका बाचालाई बिर्सेका छैनौँ, सोहि बाचाअनुसार काम धमाधम अगाडि बढिरहेको छ । रिउ करिडोरमा तटबन्धन, दर्जन बढी नदिहरूमा पक्कीपुल र सडक कालोपत्रेको काम धमाधम भैरहेको छ’, दाहालले भने- ‘सुकुम्बासी बस्ती हनुमान झुलामा बिजुली बत्ती विस्तारका लागि काम भैरहेको छ, अब छिट्टै यस क्षेत्रमा बिजुली बल्छ ।’
एक प्रसंगमा अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री ओलीले माडीमा रामसीताको मुर्ति स्थापना गरेर जनाताको समस्या हल गर्नेतर्फ भन्दा आफूतर्फ भिडाइदिन खोजेको आरोप लगाए । राम-सीता-लक्ष्मण ल्याएकोमा आफ्नो आपत्ति नभएपनि ऐतिहासिक तथ्य र अन्वेषण गरेर मात्र राम मन्दिर निर्माण गर्ने पक्षमा आफू रहेको बताए । ‘चेपाङहरुको बस्ती बिचल्लीमा छ, तिनीहरुलाई जग्गा उपलब्ध गराउनुपर्ने, हनुमान झुलाका जनताको नागरिकता जमिनको समस्या, स्वास्थ्य शिक्षाको समस्या, अन्य तमाम समस्या हल गर्ने कुरा पो प्राथमिक कुरा हो, अध्ययन अनुसन्धान गरेर सीता, राम, लक्ष्मण पनि बनाम्, अयोध्यापुरी पनि बनाउनुपर्छ ’ उनले भने ।
नागरिकता वितरण तथा सहजीकरण गर्न आयोजित २ दिने शिविरमा नागरिकता बिहिन स्थानीयलाई घर आँगनमै नागरिकता वितरण गर्ने उद्धेश्य रहेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए ।
सो अवसरमा ७३ वर्षीया हरिमाया प्रजा, ७२ वर्षीया फूलमाया प्रजालगायत ५ जनालाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, नेकपा माओवादी केन्द्रका नेता प्रभु महतो, नेकपा समाजवादीका नेता नारदमणि पौडेललगायतले बाँदरझुलाका समस्याका बारेमा ध्यानाकर्षण गरेका थिए ।





