जीवनमा आइपर्ने हरेक कुरामा बेग्लै खालको मज्जा खोज्न खप्पिस कवि सुरेन्द्र अस्तफललाई नेपाली कवितामा चिनाइरहनु जरुरी छैन । यसका लागि उनका हालसम्म प्रकाशित कृतिहरू ‘शब्दहरू अविराम यात्रामा’ (संयुक्त कवितासङ्ग्रह, २०५७), ‘बिम्बशिविर’ (कवितासङ्ग्रह, २०६१), ‘आमा’ (संयुक्त काव्य, २०७३), हिउँको आरोहण (कवितासङ्ग्रह, २०७४) र ‘तेल भिसा’ (कवितासङ्ग्रह, २०७८) नै काफी छन् । प्रायः प्रेम र यौनका कविता लेख्न मन पराउने अस्तफलको पछिल्लो कृतिमा भने फरक खालको स्वाद देख्न पाइन्छ ।
कवि अस्तफलको हालै प्रकाशित कवितासङ्ग्रह ‘तेल भिसा’ मा जम्मा ४९ वटा फुटकर कविता समेटिएका छन् । कुल १०६ पृष्ठको आयतन ओगटेको यो कृतिमा कविताले ओगटेको आयतन भने मात्र ८६ पृष्ठ छ । समालोचक महेश पौड्यालका विचारमा ‘तेल भिसा’ पलायन र पुस्तान्तर, वृद्धावस्थाउन्मुख जीवनका अनुभवहरू, राजनीति तथा मानवीय सम्बन्धका सूक्ष्मतम कडीहरूको चित्रण हो । मिहिन रूपमा खोज्ने हो भने यो सङ्ग्रहमा पनि प्रेमका विविध रङ पोतिएको पाइन्छ ।
‘तेल भिसा’का कवितामा प्रेमको चित्रण
प्रेम संसारको त्यस्तो सत्य हो, जसका आयामहरूका बारेमा अझसम्म पूर्ण व्याख्या हुन सकेको छैन । संसारमा प्रेम छ र जीवन सुरुचिमय बनेको छ । मान्छेले भाषाको आविष्कार भएदेखि नै प्रेमका बारेमा बोल्न र लेख्न छाडेको छैन तर पनि यो अझै पुरानो भएको छैन । यसरी सधैँ नूत नवीन विषयवस्तुका रूपमा लेखकका सामु उपस्थित प्रेमका बारेमा कवि अस्तफल पनि काव्यात्मक परिभ्रमण गर्न रुचाउँछन् । उनको पछिल्लो कृति ‘तेल भिसा’ मा प्रतिबिम्बित प्रेमका विविध रूपको खोजी यहाँ यसरी गरिएको छ:
अरू बाथरुममा नुहाउन पस्छन्, कवि बालकृष्ण सम दार्शनिकता खोज्छन् । उनी आफ्नो नुहाउने कोठाबाहिर जलिरहेको संसार देख्छन् भने त्यहाँभित्र आत्मिक शान्ति पाउँछन् । त्यस्तै कवि अस्तफल बाथरुममा पस्दा पनि पूर्वप्रेमिकालाई सम्झिरहेका हुन्छन् । नुहाउने बेलामा पनि उनको मनमा प्रेम यसरी छताछुल्ल भएर पोखिन्छ:
आँखैमा नाचिरहेछन् यतिखेर
कुनै दिन हात हल्लाई–हल्लाई
तिनै प्रेमिकालाई बिदाइ गर्दाका
बोझिला क्षणहरूको प्रतिबिम्ब । (‘बाथरुममा’, पृष्ठ : २९)
अरूहरू प्रेमदिवसमा प्रेम साटासाट गर्छन्, अनि साटासाट गर्छन् सम्बन्धहरू । कवि अस्तफल ‘तिमी र म’ कवितामा प्रेमीले प्रेमिकालाई हजारौँ वर्ष मिथक बनेर लेखिइरहन पाऊँ भन्ने शुभकामना दिन्छन् । यो प्रेम व्यक्त गर्ने फरक तरिका हो । हेरौँ कवितामा:
जहाँ
हामी एक मिथक बनेर
लेखिरहन सकौँ
हजारौँ हजार वर्षसम्म
प्रेमदिवसको शुभकामना ।
(‘तिमी र म’, पृष्ठ : ४७)
कवि अस्तफल आफ्नो कवितामा पूर्व प्रेमिकालाई बेस्सरी सम्झन्छन् । आफूलाई औकात सम्झाएर टाढा भएकी पूर्व प्रेमिकालाई पनि घृणा होइन, प्रेमकै नजरले हेर्छन् । चौतारोमा बस्ने बेला बर र पीपलले कुनै बेला हामी पनि जङ्गलमै थियौँ भनेर कविसँग यसरी प्रेमिल संवाद गर्दै पुरानो प्रेम सम्झाउँछ :
पीपलले
तिमीले जसरी ओठ चलाउँछ
वरले
तिमीले जसरी आँखा जुधाउँछ
र भन्छन्
हामी पनि जङ्गलमा थियौँ कुनै बेला
तर चौतारीको बसाइको मजा नै बेग्लै छ ।
(‘पूर्व प्रेमिकाको नाममा’, पृष्ठ : ५९)
कवि अस्तफल आफ्नी जीवन सँगिनीमा प्रेमिकाको रूप देख्छन् । उनमा शुभाशुभको भाव पनि छ । जसरी पूर्व फर्केको घरमा धेरै गुण पाइन्छ । उनी आफ्नी पत्नीमा पनि त्यही गुण भेट्ने गरेको प्रेममय अभिव्यक्ति कवितामा यसरी मुखरित गर्छन् :
बिहानीको पहिलो लाली
जब आँगनमा पर्छ
घर आँगनको लाली हेरेर मुस्कुराउँछ
जसरी तिमी
पहिलो भेटमा मुस्कुराएकी थियौ । (‘पूर्व फर्केको घर’, पृष्ठ : ६५)
कविले प्रेममा पनि रङको महत्व देख्ने गरेका छन् । त्यसो त प्रेम भन्ने कुरा राजनीतिभन्दा माथि हुन्छ । तर उनी कतै प्रेममा पनि राजनीति देख्छन् । ‘कालो सल’ कवितामा उनी रातो प्रेम अर्थात् क्रान्तिकारी प्रेमको चर्चा यसरी गर्छन् :
प्रिया
अब त्यो कालो सलको ठाउँमा
रातो सल लगाऊ है
किनकि
हाम्रो प्रेमलाई क्रान्तिको नाम दिनु छ । (‘कालो सल’, पृष्ठ : ६८)
कवि अस्तफलका कवितामा दैहिक वा मांसल प्रेम मात्र होइन, सन्तानप्रेम र गाउँप्रतिको प्रेम पनि खचाखच पोखिएको पाइन्छ । उनी आफ्नो ‘ठिक भनिस् साइँला’ कवितामा कुशेऔँसीमा आफ्नो मुख हेरेर हतारहतार फर्कन लागेको छोरोसँग आफ्ना सन्ततिसँग भेट्न नपाए पनि फोनमै भए पनि कुरा गर्न चाहेको कुरालाई यसरी प्रस्तुत गर्छन् :
घर पुगेर
फुन गरेस् है साइँला एकपटक
नातिनातिनी र बुहारीसित बोल्ने मन छ ।
(‘ठिक भनिस् साइँला’, पृष्ठ : ३४)
त्यस्तै उनी आफ्नो गाउँलाई पनि असाध्यै माया गर्छन् । उनका मनभित्र गाउँको प्रेम खचाखच भरिएको कुरा उनको ‘गाउँ’ शीर्षकको कविताबाट उद्धृत तलको कवितांशले प्रष्ट पारेको छ :
प्रिय गाउँ
जब जब ऐंठन हुन्छ तन र मनमा
तब तिमीलाई सम्झन्छु ।
(‘गाउँ’, पृष्ठ : ३७)
समापन
कवि सुरेन्द्र अस्तफल विविध भावमा कविता रच्न मन पराउने कवि हुन् । उनी आफ्ना कवितामा जीवनका विविध रङ घोलेर प्रस्तुत गर्छन् । यहाँ उनको पछिल्लो कृति ‘तेल भिसा’ को समीक्षा गर्ने क्रममा उक्त कृतिभित्र पोतिएका प्रेमको खोजी गरिएको छ । यो प्रेमको आरोहणलाई यहीँ विसर्जन गर्दै उनको प्रेमको यात्रा अझ सशक्त बन्दै जाओस् भन्दै कृतिको सफलताको प्रेममय शुभकामना ।
(समीक्षक प्रभात वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका नेपाली बिषयका उपप्राध्यापक हुन् ।)





