भरतपुर, १० कात्तिक ।
चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले आफ्नो ४८औँ जन्मदिनको अवसरमा नवीनतम् कवितासङ्ग्रह ‘तेल भिसा’को गृह विमोचन तथा एकल कविता वाचन गरि जन्मदिन मनाएका छन् ।
परिषद् भवनमा आयोजित कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष साहित्यकार केदारनाथ खनाल, बुबा भूमिनाथ पौडेल, ससुराबा ईश्वरीप्रसाद रिमाल, पत्नी मीना रिमाललाई मञ्चमा राखेर सङ्ग्रहको गृह बिमोचन गराएका हुन् । कवि अस्तफलले ‘आमा ढलेपछि’, ‘तेल भिसा’, ‘दागबत्ति’, ‘अभाव छ पो जिन्दगी मज्जा छ’, ‘गन्थन’, ‘बुढी घर फर्कौं’, ‘लकडाउन’, ‘कमरेडलाई प्रश्न’ लगायतका कविताहरू वाचन गरेका थिए ।
कार्यक्रममा कविहरू धनराज गिरी, अर्जुन अस्तफल, गणेश श्रमण, एलबी क्षेत्री, रुद्र पौडेल, सिम्रन क्षेत्री, बालकृष्ण थपलिया, सूर्यप्रकाश कंडेलले पनि अस्तफलका कविताहरू वाचन गरेका थिए ।
प्राध्यापक कपिल अज्ञातले कविता आफै बोल्ने, बिम्ब, प्रतीकयुक्त हुनुपर्ने, कविताले मनलाई मात्रै होइन मस्तिष्कमा चमत्कार ल्याउन सक्नुपर्नेमा जोड दिए । समीक्षक उदय अधिकारीले कवि अस्तफलका कवितामा समाजको यथास्थिति परिस्थितिको प्रतिरोधी भावना रहेको बताए । अर्का आख्यानकार वसन्त पराजुलीले अस्तफलका कविताले सरल भाषामा सशक्त विचार प्रस्तुत गरेको प्रतिक्रिया दिए ।





