भरतपुर, ८ कात्तिक ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज सोमबारलाई फूलकोर्ट बोलाएका छन् । तर प्रधानन्यायाधीश जबराले बोलाएको फूलकोर्टको बैठक १४ जना न्यायायाधीशहरुले बहिष्कार गर्ने भएका छन् । न्यायाधीशहरू प्रधान्यायाधीश जबराको सन्दर्भमा के गर्ने भन्ने धारणा बनाउन छलफलमा जुटेका छन् ।
संविधान, न्याय र स्वतन्त्रतामाथि प्रहार हुँदा सधैं अग्रपंक्तिमा उभिने नेपाल बार एसोसिएसन भने अहिले राजनीतिक दबाबले अलमलमा परेको छ । खासमा प्रधानन्यायाधीशसँग भागबन्डामा राजी भएका सत्तारूढ दलका नेताहरूको निर्देशनले बार नेतृत्व अन्योलमा देखिए पनि पूर्वपदाधिकारीले प्रधानन्यायाधीशको बहिर्गमनका लागि पहल सुरु गरिसकेका छन् ।
प्रधानन्यायाधीशले आफ्ना लागि पनि इजलास तोकेका छैनन् । शृंखलाबद्ध विवादले घेरिएका प्रधानन्यायाधीश अहिले आफ्नै उद्धारका लागि अन्तिम कसरतमा छन् ।
आइतबार प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँग छलफलपछि फूलकोर्ट बोलाएका थिए । तर, प्रधानन्यायाधीशले फूलकोर्ट बैठक बोलाएलगत्तै असन्तुष्ट १४ न्यायाधीशहरूले आफुहरु अनुपस्थित हुने आइतबारै बताएका थिए । प्रधानन्यायाधीश राणाले कार्यपालिकामा भागवण्डा खोजेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको लगायतका आरोप असन्तुष्ट न्यायाधीशहरूले लगाएका छन् ।





