भरतपुर, ८ कात्तिक ।
कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने एक लाख डोज फाइजर खोप १२ वर्षमाथिका दीर्घरोगीलाई मात्र दिने निर्णय सरकारले गरेको छ ।
यो खोप आज सोमबार नियमति उडानमार्फत अमेरिकाबाट नेपाल आइपुग्नेछ । कोभ्याक्स सुविधाअन्तर्गत अत्यन्त कम संख्यामा आएको हुनाले यो खोप पहिलो चरणमा १२ वर्षमाथिका दीर्घरोगीलाई मात्र दिने निर्णय भएको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले बताए । ‘खोप एक लाख डोजमात्र छ । धेरैजनालाई दिन सम्भव छैन ।
कोभ्याक्सको नियमअनुसार जोखिम समूहलाई पहिला दिने हो । त्यही निर्णय गरेका छौं’, दाहालले भने । कात्तिक २८ देखि मंसिर ३ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।
नेपालका मुख्य २४ वटा अस्पतालवाट यो खोप दिइने खोप शाखाले जनाएको छ । अमेरिकासँग किनेर ल्याइने भनिएको फाइजरको थप खोप आउने विषयमा यकिन नभएको खोप शाखाले जनाएको छ ।
संक्रमणदर ७.३ प्रतिशत
गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर ७.३ प्रतिशत पुगेको छ । एन्टिजेन र पिसिआर विधिबाट परीक्षण भएका ७ हजार ६ सय २५ नमुनामध्ये ५ सय ५७ जनामा कोरोना पुष्टि भएको छ। पिसिआर विधिबाट भने संक्रमणदर ८.६ प्रतिशत रहेको छ ।
थप संक्रमितसहित नेपालमा कोरोना संक्रमण हुनेको कुल संख्या ९ लाख ३ हजार ७१ पुगेको छ । तीमध्ये १० हजार २ सय १ जना सक्रिय संक्रमित छन् । ९ हजार ४ सय २३ जना होम आइसोलेसनमा छन् भने ७ सय ७८ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ । गम्भीर समस्या भएका २ सय ७३ जनाको आइसियुमा उपचार भइरहेको छ ।
गत २४ घण्टामा नेपालमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । थप मृतकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४८ पुगेको छ । नेपालमा १८ वर्षमाथिको जनसंख्यामध्ये ३३.१ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन् । १८ वर्षमाथिको जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ रहेकोमा ३३.१ प्रतिशतले पूर्ण मात्रा र ४३.२ प्रतिशतले पहिलो मात्रा खोप लिएको खोप शाखाले जनाएको छ ।





