भरतपुर, ५ कात्तिक ।
कविडाँडा साहित्य समाज चितवनले प्रत्येक वर्ष प्रदान गर्ने सम्मान तथा पुरस्कार वर्ष २०७८ घोषणा गरेको छ ।
जसअन्तर्गत कविडाँडा साहित्य सम्मान तथा देव-खीना स्मृति पुरस्कार- २०७८ तीन जना स्रस्टाले प्राप्त गर्ने भएका छन् । समालोचक तथा निबन्धकार डीआर पोखरेल (चितवन), कथाकार तथा नियात्राकार इल्या भट्टराई (काठमाडौं) र कवि, आख्यानकार, संस्कृतविद मुकुन्दशरण उपाध्याय (पोखरा)ले यो सम्मान प्राप्त गर्नेछन् । यो सम्मानको राशी जनही ११ हजार १६० रुपैयाँ रहेकोे छ ।
त्यसैगरी कविडाँडा अविनाशी कृति पुरस्कार -२०७७ संयुक्तरूपमा दिइने भएको छ । `ग्रीन टावेल´ कथासङ्ग्रहका लागि आख्यानकार शान्ति शर्मा र `निर्णय´ कथासङ्ग्रहका लागि आख्यानकार गायत्री अधिकारीले यो पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कारको राशी ११ हजार १६० रुपैयाँ रहेको छ ।
त्यसैगरी कविडाँडा युवा वाङ्मयी सम्मान तथा देव-खीना स्मृति पुरस्कार २०७८ कथाकार, गजलकार, गायक एवम् संगीतकार निर्दोष जीवन (नवलपरासी)ले प्राप्त गर्दैछन् । पुरस्कारको राशी ११ हजार १६० रुपैयाँ रहेको छ ।
त्यस्तै कविडाँडा राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कार -२०७७ आख्यानकार श्याम साहको कथासङ्ग्रह `पथेर´ले पाउने भएको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । साह सिराहाका स्रस्टा हुन् ।
कविडाँडा साहित्य समाज, चितवनले आयोजना गरेको निबन्ध प्रतियोगिता-२०७८ को उत्कृष्ट ५ को नतिजा यस अघिनै प्रकाशित भैसकेको छ ।
जसअनुसार उत्कृष्ट पाँचबाट प्रथम, द्वितीय, तृतीय र दुई जनालाई प्रोत्साहन पुरस्कार घोषणा गरिनेछ । निबन्ध अन्तर्गत प्रथम हुनेले १५ हजार रुपैयाँ, द्वितीय हुनेले १० हजार रुपैयाँ, तृतीय हुनेले ७ हजार ५ सय रुपैयाँ र प्रोत्साहन स्वरुप दुई जनाले ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
उत्कृष्ट ५ निबन्ध अन्तर्गत निरज दाहाल (झापा)को `आमाको पच्छ्यौरी´, भवानी खतिवडा (काठमाडौं)को `ट्याक्सी नम्बर १०१´, यज्ञप्रसाद न्यौपाने (रुपन्देही)को `रहरको घुम्तीमा विचारको कायाकल्प´, लक्ष्मण वियोगी (स्याङ्गजा)को `कोरोनाको कर्खा´ र सिर्जन अविरल (चितवन)को `जीवनको उकालो´ छनोटमा परेका हुन् ।
पुरस्कार वितरण कार्यक्रम कविडाँडा साहित्य समाजको १९ औँ वार्षिकोत्सका अवसरमा कात्तिक २७ गते सौराहामा हुन लागेको नेपाल भारत साहित्य उत्सव -२०७८ मा गरिने अध्यक्ष एलबी क्षेत्रीले कायाकैरनलाई बताए ।





