देवचुली, १ कात्तिक ।
देवचुली नगरपालिकामा दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता- २०७८ आजबाट सुरु भएको छ । समाज सुरक्षा क्लबका अध्यक्ष नवल ढेंगाको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रम देवचुली नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिवलाल सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समुद्घाटनमा बोल्दै वडाअध्यक्ष शिवलाल सापकोटाले वडाले खेलकुद प्रबर्द्धनमा सदैव सहयोग गर्ने बताए । वडा कार्यालयले निरन्तर खेलमैदान स्तरोन्नतिसँगै खेलकुद प्रतियोगिताहरु संचालन गर्न प्रतिबद्ध रहेको सापकोटाले बताए ।
समुद्घाटन खेलमा वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
देवचुली नगरपालिका वडा नम्बर ५ को सहयोगमा समाज सुरक्षा क्लबको आयोजनामा कदमपुरको खेलमैदानमा आज भएको युनाईटेड युवा क्लब गिरूबारी र सेभेन स्टार क्लब कावासोतीबिचको उद्घाटन खेलमा सेभेन स्टार क्लब कावासोती २-० गोलले विजयी भएको छ ।
नवलपुर जिल्लाका २० वटा भन्दा बढि टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु २५ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
भोलिको खेल लक्ष्मीपुर युवा क्लब देवचुली १२ र आयोजक समाज सुरक्षा क्लब “बी” साथै डायमण्ड युथ क्लब कावासोती १२ र झाँक्रे युवा क्लब देवचुली ४ बीच हुने आयोजक क्लबका सफल लामिछानेले बताए ।





