काठमाडौं, १ कात्तिक ।
वाग्मती प्रदेशमा संचालन हुने सार्वजनिक सवारीसाधनको भाडा बढेको छ ।
आज कात्तिक १ गतेदेखि लागू हुनेगरी वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले असोज २० गते भाडा समायोजन गर्ने निर्णय गरेको हो । अब वाग्मती प्रदेशभित्रका छोटो दुरीमा सार्वजनिक सवारीसाधन चढ्ने यात्रुले चढ्ने बित्तिकै १८ रुपैयाँ तिर्नुपर्नेछ ।
५ किमीसम्म यात्रा गर्न १८ रुपैयाँ तोकिएको छ । १० किमीसम्म २३ रुपैयाँ, १५ किमीसम्म २७ रुपैयाँ, २० किमीसम्म ३० रुपैयाँ र २० किमीभन्दा माथि ३५ रुपैयाँ भाडा तिर्नुपर्नेछ । १० वटा सूचकलाई आधार मानेर भाडा बढाइएको हो ।
लामो तथा मध्यमदुरीका सवारीसाधनका लागि केन्द्र सरकारले असार २९ गते २८ प्रतिशतसम्म भाडादर बढाइसकेको छ ।
बागमती प्रदेशमा १५ केजीसम्म सामान/गुण्टा निःशुल्क छ ।
सोभन्दा बढी १० केजीसम्म ५ रुपैयाँका दरले भाडा भुक्तानी गरी सवारीसाधन उत्पादक कम्पनीले तोकेको सरसामान/गुण्टा लिइ यात्रा गर्न पाइने बताइएको छ ।





