लेखक द्वारिका नेपालको निधन

भरतपुर, ३१ असोज ।
साहित्यकार, पत्रकार एवम् प्राध्यापक द्वारिका नेपालको निधन भएको छ । असोज २५ गते अकस्मात मस्तिष्कघात भै अर्धचेत भएका उनको उपचारको क्रममा आइतबार बिहान काठमाडौँस्थित ग्राण्डी इन्टरनेशन अस्पतालमा निधन भएको हो ।

नेपाल पत्रकार महासंघ चितवनका साधारण सदस्य, प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीका सदस्यसमेत रहेका नेपाल चितवनको कालिका एफएम तथा कालिका टेलिभिजनमा बरिस्ठ समाचारवाचकका रूपमा कार्यरत थिए । उनी शिक्षण पेशमासमेत संलग्न थिए । उनले पछिल्लोपटक भरतपुरस्थित सनराइज स्कुल, नारायणी पोलिटेक्निक ईन्स्टिच्युट (एनपिआइ) कलेज र उषा बोर्डिङ स्कुल मंगलपुरमा नेपाली विषय प्राध्यापन गर्दथे । स्वर्गीय नेपालको परिचय पत्रकारिता र शैक्षिक क्षेत्रमा मात्र नभई साहित्य क्षेत्रमा पनि उत्तिकै छ । उनका `ओझेल परेका तस्बिरहरू´ गीतसङ्ग्रह (२०६१) र `तस्बिरहरूको जुलुस´ कवितासङ्ग्रह (२०७२) सहित सहलेखनका रूपमा कविता र गजलका अन्य कृतिहरू पनि प्रकाशित छन् । गजल मञ्च चितवनका अध्यक्ष रहेका उनी अक्षर समूह चितवनमा उपाध्यक्ष थिए । उनी साहित्य संगम चितवनका संस्थापक साथै पूर्वअध्यक्ष पनि हुन् । `अत्यन्तै सरल, शालीन र मृदुभाषी व्यक्तित्वका रूपमा हामीले द्वारिकाजीलाई जान्दछौँ´, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले भने- `उहाँको निधन हामीले पत्याउनै सकिरहेका छैनौँ, हामीले एउटा असल साथी गुमाएका छौँ ।´

स्वर्गीय नेपालको जन्म २०३२ सालमा रौतहटमा भएको हो । दुई दाजुभाइमध्ये उनी जेठा हुन् । उनी परिवारसहित भरतपुरमा बस्दै आएका थिए । उनका एक छोरा, एक छोरी र श्रीमती छन् । स्वर्गीय नेपाललाई भरतपुर-१०, रमाइलोचोकस्थित निवासमा राखेर अन्तिम श्रद्धाञ्जली दिई आजै देवघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ ।

यही असोज २५ गते भरतपुरबाट स्थायी घर रौतहटको चन्द्रनिगाहपुर जानेक्रममा बाराको निजगढ नजिकै तामागढी जंगलमा पुग्दा बिहान ९ः३० बजे अचानक बेहोस भएर अर्धचेत अवस्थामा पुगेपछी नेपाललाई तत्काल एम्बुलेन्सबाट भरतपुरस्थित चितवन मेडिकल कलेजमा ल्याएर उपचार थालिएको थियो । यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत असोज २६ गते काठमाडौँको ग्राण्डी अस्पतालमा पुर्‍याएर आइसियुमा राखेर उपचार थालिएको थियो ।

साहित्य सिर्जना, पत्रकारिता र प्राध्यापन क्षेत्रका प्रतिभाशाली व्यक्तित्वको निधनले मुलुकलाई अपूरणीय क्षती पुगेको कवि गोविन्दराज विनोदीले बताए । नेपालको निधनमा जिल्लाका विभिन्न साहित्यिक संघसंस्थाले दु:ख व्यक्त गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट